सहकारी र राहदानी प्रकरणमा रविमाथि छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्छ : मुकुल ढकाल

'रवि लामिछानेको कब्जाबाट पार्टीलाई छुटाएरै छाड्छाैं'

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. मुकुल ढकालले रवि लामिछानेको कब्जाबाट पार्टीलाई छुटाएरै छाड्ने बताएका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीबाट नभई रवि लामिछाने क्लबबाट मात्रै निष्कासन गरिएको जिकिर गर्दै आफू अहिले पनि पार्टीको महामन्त्री नै रहेको बताए ।

‘म अहिले पनि महामन्त्री छु र हो । मलाई राष्ट्रिय स्वतन्त्र पार्टीबाट होइन रवि लामिछाने क्लबबाट मात्रै निष्कासन गरिएको हो । म अहिले पनि गएर पार्टीको महामन्त्रीको जुन कुर्सी छ, त्यसमा बस्न सक्छु,’ उनले भने, ‘रास्वपालाई रवि लामिछाने क्लबको रूपमा कब्जा गरिएको छ । पार्टी एलिडरको कब्जामा गइसक्यो । आज पार्टी कुनै एलिडरको कब्जामा जाँदैमा, रवि लामिछानेको कब्जामा जाँदैमा पार्टीलाई माया गर्ने घण्टीवाहक साथीहरूले डराउनु पर्दैन । यो कब्जाबाट हामी थुत्छौं ।’

उनले सभापति लामिछानेमाथि सहकारीको रकम ठगी प्रकरणमा अनुसन्धान हुनुपर्ने र त्यसका लागि पार्टीका केन्द्रीय समिति सदस्यहरूले स्वतन्त्र उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताए । उनले दुईवटा राहदानीको विषयमा पनि पार्टीले लामिछानेउपर छानबिन समिति बनाउनुपर्ने माग गरे । छानबिन समितिमा स्वतन्त्र व्यक्ति राख्नुपर्ने उनको भनाइ छ ।

‘सहकारी प्रकरणमा रवि लामिछानेमाथि अनुसन्धान गर्नुपर्छ भनेर सर्वोच्च अदालतले फैसला गरिसकेको छ । राय नैतिकताको छुट दिने कि राजीनामा दिने भन्ने रायमा मात्रै मत बाझिएको हो,’ ढकालले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले अब पार्टीको धारणा बनाउनुपर्छ । त्यसका लागि स्वतन्त्र उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ । त्यसमा स्वतन्त्र व्यक्तिलाई राख्नुपर्छ । संसदको छानबिन समितिले पुग्दैन । पार्टीभित्रबाट रवि लामिछानेउपर छानबिन समिति बनाउनुपर्छ । पासपोर्टको सवालमा पनि स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्छ ।’

आफूलाई राजनीतिक दलको मूल्यमान्यताविपरीत निलम्बन गरिएको र उपसभापतिबाट निलम्वबको पत्र दिनु अवैधानिक रहेको उनले जिकिर गरे ।

हेर्नुहाेस् भिडियाे 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर