किन संकटमा छन् चिनियाँ बैंकहरू ?

सन् १९८० को दशकमा बचत तथा ऋण प्रवाहको संकटले वर्षौंसम्म अमेरिकी बैंकहरुलाई आतंकित बनायो । यही कारणले १ हजारभन्दा साना वित्तीय संस्थाको पतन र मर्जर भयो ।

चीनमा साना बैंकहरु अहिले यस्तै समस्याबाट गुज्रिरहेका छन् । जुन २४ यताको एक सातामा मात्र ४० बैैंकहरु बन्द भए, जसमध्ये कुनै सधैंका लागि बन्द भए त कुनै अन्य ठूला बैंकमा गाभिए ।

चीनमा सन् २०१९ देखि मध्यमस्तरीय बैंकहरुको पतन सुरु भएको थियो । यसक्रममा शक्तिशाली लगानीकर्ता र राज्यस्तरीय लगानीकर्ता डुबेका थिए । अहिले भने ग्रामीण बैंकहरुमा समस्या देखिएको हो ।

चिनियाँ ग्रामीण इलाकामा यस्ता करिब ४ हजार वित्तीय संस्थाहरु समस्यामा परेका छन् । यी संस्थाहरुको कुल पुँजी ५५ ट्रिलियन युआन (७.५ ट्रिलियन डलर) छ, जुन कुल बैंकिङ प्रणालीको १३ प्रतिशत हो ।

खराब कर्जाका कारण चिनियाँ बैंकहरुमा समस्या देखिएको हो । यस्ता वित्तीय संस्थाले रियल इस्टेट कारोबारी र स्थानीय सरकारलाई ऋण दिँदै आएका छन् । तर, खासमा यी बैंकहरु चीनको सबैभन्दा गरिबीको चपेटामा परेका क्षेत्रहरुमा साना व्यवसायलाई सेवा दिन स्थापना गरिएको थियो ।

खराब कर्जाको जालोमा फसेपछि चिनियाँ बैंकहरुले त्यस्ता व्यवसायका लागि ऋण प्रदान गर्न सकेका छैनन् । यसको असर भने सामाजिक स्थिरता र स्थानीय आर्थिक वृद्धिमा देखिने विश्लेषकहरुको भनाइ छ ।

बैंकहरुमा समस्या देखिएपछि सन् २०२२ मा बैंकहरुमा निक्षेप निकाल्न रोकिएको थियो । जसको विरोधमा निक्षेपकर्ताहरु प्रान्तीय राजधानीका सडकमा विरोध प्रदर्शन गर्न बाध्य भएका थिए । राज्यले यस्ता बैंकहरुमा हस्तक्षेप गर्ने जनाए पनि संकट हटाउन, पुनर्संरचना वा मर्जरका काममा लामो समय लाग्ने देखिएको छ ।

बैंकहरुमा देखिएको समस्या समाधानका लागि अहिले स्थानीय सरकारहरुले विशेष ऋणपत्रहरु जारी गर्न थालेका छन् । यस्तै गत वर्षमात्रै २ सय १८ अर्ब युआन रकम क्षेत्रीय बैंकहरुमा पठाइएको थियो । केही वर्षयताको यो प्रयास अझै सफल भइसकेको छैन ।

चीनको प्रान्त लिओनिङमा भने यस्ता बैंक बन्द गर्ने उपाय लगाइएको छ । चीनको उत्तरपूर्वी यो राज्यमा हालै बन्द भएका ३६ बैंकहरुलाई लिओनिङ ग्रामीण वाणिज्य बैंकमा समाहित गरिएको थियो । खराब वित्तीय संस्थालाई मर्ज गरेर एउटा ठूलो संस्था बनाउनु नै राज्यको उपाय हो । सेप्टेम्बरयता यस्ता ५ वटा वित्तीय संस्था स्थापना भइसकेका छन् अझै स्थापना हुने अपेक्षा गरिएको छ ।

संकटमा परेका बैंकहरुलाई गायब बनाउने यो उपायले गति लिने अपेक्षा चीनको छ । रेटिङ एजेन्सीे एसएन्डपी ग्लोबलका अनुसार यस्तो उपायले अहिले देखिएको वित्तीय समस्या समाधानका लागि अझै एक दशकसम्म लाग्न सक्छ ।

समर्थकहरुले संकटमा रहेका साना बैंकलाई जोडेर ठूलो बैंक बनाउँदा नियमन गर्न सहज हुने बताएका छन् । तर, आलोचकहरुले भने राज्यको यस्तो नीतिको विरोध गरेका छन् । यस्तो उपाय केवल जनतालाई झुक्याउन मात्र रहेको उनीहरुको भनाइ छ । दर्जनौं खराब बैंकहरुलाई मिलाउने केवल एउटा ठूलो खराब बैंक बन्ने आलोचकहरुको तर्क छ ।

बैंक विफल भएको र बजार छोड्न लागेको भनेर अनुमति दिने कुनै संयन्त्र नभएका कारण चीनका नियामक निकायले बैंकहरुलाई मर्जका लागि नै जोड दिइरहेका छन् । अमेरिकामा भने यस्तो संकटको समयमा वित्तीय संस्थाको सुधार, प्राप्तिलगायतका लागि कानुन पारित गरिएको थियो । यो कानुनका कारण बैंकहरुलाई ऋणदाताको जायजेथा बेच्न र संकटलाई व्यवस्थित तरिकाले हल गर्न सहयोग मिल्यो । यस्तो खालको कानुन चीनले ल्याउन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर