एमाले जिल्ला कमिटीले साउन महिनाभित्र पार्टी सदस्यता नवीकरण गरिसक्नुपर्ने

कात्तिकभित्र ११ जिल्लाले अधिवेशन सक्नुपर्ने

नेकपा (एमाले) ले पार्टीका सबै जिल्ला कमिटीलाई साउन महिनाभित्रमा पार्टी सदस्यता नवीकरण गरेर भदौसम्म संगठन विभागबाट प्रमाणीकरण गरिसक्न निर्देशन दिएको छ । बुधबार बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

उनका अनुसार अधिवेशन गर्न बाँकी ११ वटा जिल्लामा आगामी कात्तिकभित्र अधिवेशन गरिसक्नुपर्ने निर्णय भएको छ । अहिले भएको कमिटीलाई संगठन कमिटीमा रूपान्तरण गर्ने, समन्वय कमिटीलाई प्रभावकारी बनाउन २० प्रतिशतसम्म सदस्य मनोनयन गर्न पाउने र त्यहाँभित्र सचिवालय बनाउन पाउने निर्णय भएको पनि उनले बताए ।

उनले पार्टीले सहकारी तथा गरिबी निवारण विभागको सचिवको जिम्मेवारी परितोष पौडेललाई दिने र भूमि व्यवस्था विभागको सचिवको जिम्मेवारी विजय सुवेदीलाई दिने निर्णय गरेको बताए ।

बैठकले प्रदेश कमिटीले अनुमोदनका लागि पठाएका प्रस्तावलाई अनुमोदन गरेको छ । त्यस्तै गत वर्ष एक वर्षका लागि पार्टीका सबै केन्द्रीय सदस्यहरूलाई सम्बन्धित भूगोलभन्दा बाहिरको जिम्मेवारी दिएकोमा अब आफ्नै भूगोलको जिम्मेवारीमा फर्काउने निर्णय गरेको छ ।

उपमहासचिव ज्ञवालीले नयाँ कार्यविभाजनको आधारमा अब केन्द्रीय सदस्यलाई सबैभन्दा तल्लो इकाइका रूपमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको जिम्मा दिने, जिल्ला वा प्रदेशको पनि लिन सक्ने व्यवस्था मिलाइने बताए । सबैभन्दा आधारभूत इकाइ निर्वाचन क्षेत्र समन्वय कमिटी (निर्वाचन क्षेत्र) लाई आधार बनाएर कार्यविभाजन गर्ने बताए ।

उनले बैठकमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एमालेलाई सत्ताबाहिर राख्न विभिन्न कदम चालेको बारे बैठकमा जानकारी गराएको बताए ।

हेर्नुहाेस् भिडियाे 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर