एमाले-कांग्रेसबीच संविधान संशोधनका लागि आयोग बनाउने सहमति भएको छैन : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस–एमालेबीच संविधान संशोधनका लागि आयोग बनाउने सहमति नभएको बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले अनुभवबाट प्राप्त परिवर्तन, परिमार्जन, सुधार आवश्यक भए त्यसमा आधारित रहेर संविधान संशोधन गर्ने सहमति भएको बताए । उनले निश्चित बुँदा तोकेर निष्कर्षमा नपुगेको पनि बताए ।

उनले आयोग कसैको नेतृत्वमा पनि नबनेको उल्लेख गर्दै आयोग बन्ने भन्ने कुरा नभएको बताए ।

‘अनुभवहरूले के कस्ता परिवर्तन, परिमार्जन, सुधार आवश्यक छन्, त्यसमा आधारित भएर संशोधन गर्ने हो । यो यो बुँदामा भन्ने निष्कर्षमा पुगिसकेका छैनौं,’ अध्यक्ष ओलीले भने, ‘कसैको नेतृत्वमा आयोग बनेको छैन । कसैको नेतृत्वमा आयोग बन्ने भन्ने कुरा केही पनि भएको छैन ।’

उनले राष्ट्रिय हितहरूको रक्षा र संवर्द्धन गर्नका निम्ति र समृद्ध नेपाल, सुखी नेपाली बनाउनका निम्ति आवश्यक संशोधन हुने उल्लेख गरे । उनले एमाले र कांग्रेस मिल्दा संविधान अराजकता, अन्योलता र अस्थिरतातिर गएको भन्ने कुरा भ्रम फैल्याउनका लागि बोलिएको बताए ।

उनले प्रदेशहरूमा महिना दिनमा सरकार बनाउने, अस्थिरता निम्त्याउने, बार्गेनिङ गर्ने, निजी र दलगत स्वार्थलाई केन्द्र भागमा राखेर अस्थिरता निम्त्याउने क्रमलाई रोक्न एमाले र कांग्रेस मिलेको बताए । उनले विकास निर्माण र जनताका आवश्यकता तथा कामलाई केन्द्र भागमा नराख्दा भ्रष्टाचारतिर देशलाई लैजाने काम भएपछि आफूहरू मिलेको बताए ।

उनले स्वार्थ अग्रभागमा भएको र संघीयतालाई सफल बनाउने दिशामा नगएकाले समीकरण फेर्नुपरेको बताए । उनले संविधानप्रतिको ओठेभक्ति देखाएर संविधानलाई व्यवहारमा असफल बनाउने खालका प्रयास स्वीकार्य नहुने चेतावनी दिए ।

अध्यक्ष ओलीले संविधान गतिशील, समाजको पथप्रदर्शक भएकाले समयानुकूल परिमार्जन हुने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर