‘मोस्ट वान्टेड’ सूचीमा रहेका गुरुङ दिल्लीबाट तेस्रो मुलुक फरार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पटक–पटक भएको सुन तस्करीमा संलग्न तथा प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका जीवन गुरुङ भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासबाट एनओसी (नो अब्जेक्सन लेटर) लिएर तेस्रो मुलुक फरार भएको खुलेको छ । उनी तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार थिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले विमानस्थलबाट तस्कर भई आएको ६०.७१६ किलो सुन तस्करीसँग सम्बन्धित दोस्रो चरणको अनुसन्धान सुरु गरेलगत्तै गुरुङ स्थलमार्ग हुँदै भारतको दिल्ली पुगेका थिए । सूचना प्राप्त भएलगत्तै सिआइबीले गुरुङलाई पक्राउ गर्न दिल्ली प्रहरीसँग समन्वय गरेको थियो । यसका लागि सिआइबीले नेपाली दूतावासस्थित प्रहरी ‘एट्याची’ एसएसपी उमा चतुर्वेदीलाई दिल्ली प्रहरीसँग समन्वय गर्न निर्देशन दिएको थियो ।

नेपाल प्रहरीअन्तर्गत विशेष ब्युरो स्रोतका अनुसार निर्देशनलगत्तै एसएसपी चतुर्वेदीले दिल्ली प्रहरीसँग आवश्यक समन्वय मिलाउँदै थियो । तर, गुरुङले त्यसअघि नै दूतावासबाट एनओसी लेटर फुत्काइसकेका थिए । सूचनापछि एसएसपी चतुर्वेदीले गुरुङलाई रोक्न दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलस्थित भारतीय इमिग्रेसनमा अनुरोध गरेका थिए । तर, इमिग्रेसनले एनओसी लेटरसहित जहाजतर्फ यात्रामा निस्किएको यात्रुलाई रोक्न नमिल्ने भन्दै पन्छाइदिएको थियो ।

सिआइबीले गत ५ चैतदेखि ६०.७१६ किलो सुन तस्करीसँग सम्बन्धित दोस्रो चरणको अनुसन्धान सुरु गरेको थियो । विमानस्थलबाट भएको १४ किलो सुन तस्करीमा पक्राउ परेका गुरुङ सोही दिन १५ लाख धरौटीमा जिल्ला अदालत काठमाडौंबाट हिरासतमुक्त भएका थिए । पुनः पक्राउ परिने भएपछि गुरुङ रातारात स्थलमार्ग हुँदै दिल्ली पुगेका थिए । सिआइबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले गुरुङ प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेको र दिल्लीस्थित दूतावासबाट एनओसी लेटर लिएर तेस्रो मुलुक फरार भएको घटना विश्वास गर्न नसकिने बताए । १४ किलो सुन तस्करीमा संलग्न गुरुङलाई सिआइबीले गत १३ फागुनमा खुसिबुबाट पक्राउ गरेको थियो । सुन तस्करीमा भारतीय नागरिक अंकित अग्रवालको प्रतिनिधि भएर काम गर्दै आएका थिए । यो समाचार नयाँपत्रिका दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर