पार्टी बलियो बनाउँदै जनताका अधिकारको रक्षा गछौँ : जनार्दन शर्मा

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पार्टी संगठनलाई बलियो बनाउँदै जनताका अधिकारको रक्षा गर्ने ढङ्गले अघि बढ्ने बताएका छन् ।

पार्टीको पोखरा महानगर कमिटीले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले सरकार, सदन र सडक तीनै मोर्चामा पार्टीलाई क्रियाशील बनाइने बताए । पार्टी संगठन निर्माण र सुदृढीकरण अबको हाम्रो पहिलो प्राथमिकता हो, उपमहासचिव शर्माले भने, “संविधान संशोधन गरेर परिवर्तनका उपलब्धि खोस्ने षड्यन्त्र भए तीनवटै मोर्चाबाट संघर्ष गछौँ । पार्टी प्रतिपक्षमा बस्न तयार रहेको उल्लेख गर्दै उहाँले जनताका हक अधिकार गुम्न नदिन जहिले पनि सचेत भएर लाग्ने बताए ।

उपमहासचिव शर्माले विगतमा पार्टी निर्माण र एकताबद्ध बनाउने सन्दर्भमा सबैको कमी कमजोरी भएको स्वीकार गर्दै आफ्नोतर्फबाट भएको कमजोरीको जिम्मा लिन तयार रहेको उल्लेख गरे । माओवादी केन्द्रलाई थप एकताबद्ध र शक्तिशाली बनाइने उनको भनाइ थियो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले संविधानअनुसार नै विश्वासको मत लिन लागेको उनले बताए । माओवादी केन्द्रको नेतृत्वमा सरकार सञ्चालन हुँदा सुशासन, विकास र समृद्धिका क्षेत्रमा उल्लेखनीय काम भएको उपमहासचिव शर्माले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर