मौद्रिक नीति बैंक र व्यवसायी दुवै बचाउने सञ्जीवनी बुटी बन्नुपर्छ : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मौद्रिक नीति बैंक र व्यवसायी दुवै बचाउने सञ्जीवनी बुटी बन्नुपर्ने बताएका छन् ।

मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग महासंघले आयोजना गरेको मौद्रिक नीतिबारेको छलफलमा अध्यक्ष ढकालले यस्तो सुझाव दिएका हुन् । उनले आगामी आर्थिक वर्षको मौद्रिक नीति व्यवसायी तथा वित्तीय क्षेत्रलाई बचाउने सञ्जीवनी बुटी बन्ने गरी आउनुपर्ने बताए ।

उनले उत्पादनमूलक उद्योगको क्षमता बढाउँदै बैंकको ब्याजदर विगतको भन्दा कम गर्ने विषय नीतिले बोल्नुपर्ने बताए । उनले मागमा आएको संकुचनका कारण उद्योगीहरूले ऋण तिर्ने नसकेको भन्दै मौद्रिक नीतिले त्यसलाई सम्बोधन गर्नुपर्ने बताए ।

उनले लगानीलाई प्रोसाहन, पर्यटन पूर्वाधार र व्यवसायलाई प्रवर्द्धन गर्ने विषयमा मौद्रिक नीतिले केही सोच्नुपर्ने उल्लेख गरे । उनले निजी क्षेत्रमा प्रवाह हुने कर्जालाई सहज र सुलभ गरिनुपर्ने बताए । उनले निक्षेपको तुलनामा कर्जा प्रवाह आधा मात्रै बढेको उल्लेख गरे ।

उनले नगद प्रवाहमा भएको समस्या, न्यून उत्पादन र निजी क्षेत्रको गिर्दो मनोबलका कारण नयाँ लगानीका योजनासमेत स्थगन भइरहेकाले मनोबल उच्च बनाउने खालको मौद्रिक नीति अहिलेको आवश्यकता भएको बताए । उनले गाउँ र साना लगानीका क्षेत्रमा लगानी वृद्धि गर्न बैंकहरूलाई प्रोत्साहन गरिनुपर्ने बताए ।

उत्पादनमूलक उद्योगको क्षमता बढाउनुपर्छ । बैंकको ब्याजदर विगतको भन्दा कम गर्ने विषय नीतिले बोल्नुपर्छ,’ अध्यक्ष ढकालले भने, ‘मागमा आएको संकुचनको कारण उद्योगीहरूको ऋण तिर्ने (क्षमता) कम भएको छ । त्यसलाई सम्बोधन गरिनुपर्छ । लगानीलाई प्रोसाहन गर्ने नीति अपनाउनुपर्छ ।’

उनले सबै ऋणीले नियतवश कर्जा नतिरेको नभई वास्तविक रूपमै समस्यामा परेर बैंकको ऋण तिर्न नसकेको बताए । उनले कर्जा चुक्ता गरेलगत्तै व्यवसायी तथा कम्पनीलाई कालोसूचीबाट हटाउने व्यवस्था गर्न सुझाव दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर