एमाले-माओवादी समीकरण किन भत्कियो ओलीले जवाफ दिनुपर्छ : सांसद दाहाल

नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले एमाले-माओवादी केन्द्रको समीकरण भत्किनुका कारणबारे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग जवाफ माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहालले एमाले अध्यक्ष ओलीकै प्रस्तावमा एमाले-माओवादी केन्द्रको समीकरण बनेको भए पनि बिनाकारण समीकरण भत्काइएको बताए । उनले समीकरण सुरू गर्नुको उद्देश्य र भत्काउनुको कारणका बारेमा ओलीले प्रस्ट पार्नुपर्ने बताए ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको कार्यभार पूरा गरिरहेको अवस्थामा समीकरण तोड्नुको कारण के हो भनी प्रश्न गरे ।

‘प्रश्न गर्नुपर्छ केपी ओलीलाई । यहाँले जुन उद्देश्यसहित सहकार्य सुरू गर्नुभयो, अहिले कुन उद्देश्यसँग केन्द्रित भएर यो सहकार्य तोड्नुभयो ?,’ सांसद दाहालले भने, ‘जुन उद्देश्यसहित केन्द्रित रहेर सत्ता सहकार्य सुरू गर्‍यौं, जतिबेला हामीले सत्ता सहकार्य सुरू गरेका थियौं, प्रचण्डले लिनुभएको सुशासन, समृद्धि र सामाजिक न्यायको केन्द्रीय कार्यभार पूरा गर्ने संककल्प पछि हटेको थिएन । उहाँलाई थाहा थियो । पछिल्लो समय के कारणले हामीबीचको समिकरण तोडियो ? यो त जवाफ दिनैपर्छ ।’

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति नर्गनाले वा बेचन झा र प्रतीक थापालाई पक्राउ गर्नाले समीकरण भत्काएको हो भनेर उनले प्रश्न गरे । चुनावी घोषणापत्रमा संविधान संशोधनको मुद्दा राखेको भए मात्रै संविधान संशोधन गर्न पाउने भन्दै सांसद दाहालले जनतालाई नझुक्याउन चेतावनी दिए ।

‘भ्रष्टाचारविरोधी अभियान सञ्चालन गर्दै जाने क्रममा बेचन झा र प्रतीक थापाको गिरफ्तारी भयो, त्यही कारणले सहकार्य टुट्यो ? जवाफ त दिनैपर्छ,’ उनले भने, ‘संविधान संशोधनसँग जोडिएर सहमति भएको विषयवस्तु उठेका छन् । संविधान संशोधन त्यतिबेला गर्न पाउनुहुन्छ जतिबेला तपाईंहरूले निर्वाचनमा चुनावी घोषणापत्रमा संविधान संशोधनका मुद्दा राख्नुपर्थ्यो। जनतालाई झुक्याउने ?’

सांसद दाहालले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि संविधान संशोधन गर्न सकिने बताए । उनले कांग्रेस र एमालेका बीचमा भएको भनिएको सहमति बदनियतपूर्ण र प्रतिगामी सहमति भएको टिप्पणी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर