‘विदेशी लगानीका जलविद्युत् आयोजनामा स्वदेशी बैंकले लगानी गर्नुहुँदैन’

विदेशी लगानीका जलविद्युत् आयोजनामा स्वदेशी बैंकले लगानी गर्दा स्वदेशी परियोजना मर्कामा परेका सरोकार भएकाहरूले बताएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले नेपाल पूर्वाधार पत्रकार समाज (सिज्)सँगको सहकार्यमा आज यहाँ आयोजना गरेको एक कार्यक्रममा इप्पान अध्यक्ष गणेश कार्कीले विदेशी लगानीका आयोजनामा नेपालका बैंकले लगानी गर्दा स्वदेशी आयोजना समस्यामा परेको दाबी गरे ।

उनले विदेशी परियोजनामा पुँजी पनि विदेशबाटै ल्याउनुपर्ने धारणा राखे । “बैंकहरूले निश्चित सीमामा रहेर ऊर्जा क्षेत्रका परियोजनामा लगानी गरेका हुन्छन्, यस्तोमा त्यो लगानी विदेशी लगानीका आयोजनामा जाने हो भने निजी क्षेत्रका परियोजनाले कर्जा नै नपाउने अवस्था रहन्छ । त्यसैले विदेशी लगानीमा निर्माण हुने आयोजनामा पुँजी पनि विदेशबाट ल्याउनुपर्छ”, अध्यक्ष कार्कीले भने ।

नेपाल विद्युत् प्राधिकरणका निर्देशक केदारराज सिल्वालले जलविद्युत् आयोजना निर्माणसँगै प्रसारण लाइन पनि निर्माण जरुरी रहेको बताए । उनले हाल कूल १२ हजार चार सय ४६ मेगाभोल्ट एम्पायर ऊर्जा बहन क्षमताको प्रसारण लाइन निर्माण भइसकेको उल्लेख गर्दै सन् २०३० मा सो क्षमता ३५ हजार छ सय ७५ मेगाभोल्ट एम्पायर पुग्ने गरी प्रसारण लाइन निर्माण भइसक्ने जानकारी दिए ।

इप्पानका उपमहासचिव प्रकाश दुलालले संविधानमै जलविद्युत् आयोजनाको क्षेत्राधिकार कुन तहसम्म हुने भन्ने स्पष्ट नभएको धारणा राखे । उनले प्रस्तावित विद्युत् विधेयक निजी क्षेत्र मैत्री नभएको भन्दै विभिन्न बुँदामा संशोधन आवश्यक भएको उल्लेख गरे ।

उपमहासचिव दुलालले उक्त मस्यौदामा सरकारी आयोजनाले प्रतिस्पर्धा गर्न नपर्ने र निजी लगानीका आयोजनालाई मात्रै प्रतिस्पर्धा गर्नुपर्ने व्यवस्था निजी लगानीमैत्री नभएको बताए । बिजुली सस्तो बनाएर रोजगारी सृजना गर्नुपर्नेमा महँगो बनाएर राजस्व संकलन गर्ने सरकारको नीति सही नभएको उनको जिकिर थियो ।

इन्जिनियर मणिराज दाहालले नेपालमा जलविद्युत् आयोजनाको सम्भावना, लगत र प्राविधिक विषयमा चर्चा गरे । उनले नेपालको भौगोलिक अवस्थामा जलविद्युत् परियोजनाको सम्भावनाबारे समेत धारणा राखेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर