‘पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ’

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादी केन्द्रले सशक्त प्रतिवाद गर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद सापकोटाले धर्म निरपेक्षता र समावेशी समानुपातिक प्रतिनिधित्व प्रणाली वर्तमान संविधानको सुन्दरता भएको बताए । उनले संविधानको यो सुन्दरताविपरीत गएर संविधान संशोधन हुन नसक्ने बताए ।

उनले पश्चगामी सोचाइका साथ संविधान संशोधनमा गिद्धेनजर लगाइए माओवादी केन्द्रले संसद र सडकबाट सशक्त प्रतिवाद गर्ने बताए । उनले कांग्रेस-एमालेले संविधानको सुन्दरतामाथि प्रहार गरेमा सम्बन्धित जाति, समुदाय, क्षेत्र, लिंग र वर्गले प्रतिवाद गर्ने र त्यसको नेतृत्व माओवादी केन्द्रले गर्ने बताए ।

उनले जनताका अधिकारहरूलाई सुदृढ गरेर र समयानुकूल परिमार्जन गरेर संशोधन गर्ने कुरामा भने माओवादी सहमत रहने बताए ।
‘हाम्रो भनाइ के हो भने यस्तो पश्चगामी सोचाईका साथ उहाँहरू संविधान संशोधनमा गिद्धेनजर लगाउन थाल्नुभएको हो भने त्यसको संसद र सडकबाट पनि हामीले प्रतिवाद नगरे पनि सम्बन्धित अधिकार प्राप्त गरेका जाति, समुदाय, क्षेत्र, लिंग, वर्गले प्रतिवाद गर्छ,’ सांसद सापकोटाले भने, ‘त्यसबेला त्यसको नेतृत्व हामीले गर्नैपर्छ । त्यो अधिकार हनन गर्ने, खोस्ने र संविधानको सुन्दरतामाथि उहाँहरूले हमला गर्न थाल्नुभयो भने त्यसको प्रतिकार गर्नुको त अरू हामीसँग के विकल्प रहन्छ र ?’

उनले प्रधानमन्त्रीले संवैधानिक अधिकार प्रयोग गरेर विश्वासको मत लिने बताए । प्रधानमन्त्रीले विश्वासको मत लिन संविधानमा भएको व्यवस्थालाई लोकतान्त्रिक ढंगले अभ्यास गर्न लागेको बताए ।

हेर्नुहाेस् भिडियाे 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *