राष्ट्रपतिको उम्मेदवारीबाट पछि हट्लान् बाइडेन ?

आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको चुनावका लागि डेमोक्रेटिक पार्टीबाट उम्मेदवारका मुख्य दाबेदार तथा हालका राष्ट्रपति जो बाइडेन अहिले समस्यामा परेका छन् ।

रिपब्लिकन पार्टीबाट उम्मेदवारका दाबेदार डोनाल्ड ट्रम्पसँगको पहिलो बहसमा कमजोर देखिएपछि उम्मेदवारीबाट बाइडेन पछि हट्नुपर्ने आवाज उनकै पार्टीमा उठेको हो ।

डेमिक्रेटिकका नेताहरुले बाइडेनको मानसिक अवस्थामाथि प्रश्न उठाउँदै उनले नेतृत्वको दाबेदारी अरु कसैलाई हस्तान्तरण गर्नुपर्ने बताएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले उल्लेख गरेको छ ।

तर, हालै एबीसी न्यूजसँगको अन्तर्वार्तामा बाइडेनले आफू उम्मेदवार बन्नका लागि फिट रहेको बताएका छन् । राष्ट्रपतिको उम्मेदवारीको दौडबाट पछि हट्न केवल भगवान्ले मात्र आफूलाई मनाउन सक्ने उनले बताए ।

यस्तो अवस्थामा पनि ८१ वर्षीय बाइडेन पछि हट्ने सम्भावना छ त ?

यस्तो सम्भावना केवल बाइडेनको निर्णयमा भर पर्छ । उनले पछि हट्ने निर्णय गरे डेमोक्रेटिक पार्टीलाई नयाँ उम्मेदवार खोज्न पनि सहज हुनेछ ।

सिकागोमा आगामी अगस्ट १९ र २० हुने डेमोक्रेटिक राष्ट्रिय सम्मेलनले पार्टीको आधिकारिक उम्मेदवार तय गर्नेछ । उक्त सम्मेलनमा बाइडेन र कमला ह्यारिसको नाम सिफारिस गर्ने तयारी छ । कमला हाल उपराष्ट्रपति छिन् ।

उम्मेदवार बन्न दुवै जनाले उक्त सम्मेलनमा बहुमत प्रतिनिधिको समर्थन जुटाउनु पर्नेछ । यिनै प्रतिनिधिले उम्मेदवार तय गर्छन् । यस्ता प्रतिनिधि राज्यमा भएका प्रारम्भिक चुनावबाट छानिएका हुन् । बाइडेनको पक्षमा करिब ९९ प्रतिशत अर्थात् ४ हजार प्रतिनिधि छन् । उनीहरु वर्तमान राष्ट्रपतिप्रति प्रतिबद्ध छन् ।

यदि, बाइडेन पछि हटेमा ती प्रतिनिधिलाई पनि स्वतन्त्र रुपमा उम्मेदवार छान्न मौका मिल्नेछ । त्यसो भएमा डेमोक्रेटिकमा राष्ट्रपतिको उम्मेदवारको दाबेदारीमा धेरै अघि आउन सक्छन् र बहुमत नपाएसम्म उम्मेदवार चयन प्रक्रिया जारी रहन सक्छ ।

राजनीतिक जानकार लिह राइट बीबीसीलाई भन्छिन्, ‘यदि बाइडेनलाई पछि हट्न भन्ने हो भने पहिला उनको स्थानमा को आउँछ भन्ने स्पष्ट पार्नुपर्छ ।’

यदि, बाइडेनले नै चाहेनन् भने उनलाई हटाउन सहज छैन । तर, डेमोक्रेटिक पार्टीका केही प्रावधान प्रयोग गर्न सकिन्छ । राष्ट्रपतिका उम्मेदवार भावनात्मक रुपमा पनि आफ्ना प्रतिनिधिलाई प्रतिविम्बित गर्ने हुनुपर्ने डेमोक्रेटिकको नियम छ, जसलाई प्रयोग गर्न सकिन्छ ।
तर, यसरी हटाउने प्रक्रिया शोभनीय नहुने राजनीतिक जानकार राइटको भनाइ छ । उनले पार्टी प्रतिनिधिबीच विद्रोह हुनेमा पनि आशंका जनाइन् ।

बाइडेन पछि हटेमा कमला ह्यारिसलाई सहज त हुनेछ तर उनी उम्मेदवार बन्नेमा भने अझै मेहनत गर्नुपर्नेछ । हाल उपराष्ट्रपति भए पनि अमेरिकी जनतामा उनको लोकप्रियता कम नै छ ।

एबीसीसँगको अन्तर्वार्तामा बाइडेनले राष्ट्रपतिका लागि आफूभन्दा योग्य उम्मेदवार अरु कोही नभएको जिकिर गरेका छन् । ‘मलाई लाग्दैन कि म भन्दा राष्ट्रपतिको लागि कोही योग्य छ वा यो दौडमा उसलाई कसैले हराउन सक्छ,’ उनले भने ।

ट्रम्पसँगको बहसमा आफ्नो कमजोर प्रदर्शनको कारणमा उनले थकान र रुघाखोकी उल्लेख गरेका छन् । उनले चुनावी विश्लेषकहरुसँग कुरा गरेको र अहिले नै कसको पल्लाभारी छ भन्ने बताउन नसकिने तर्क गरे ।

शुक्रबारको एक ¥यालीमा बाइडेनले ‘डोनाल्ड ट्रम्पलाई हराउन म धेरै बुढो भएँ ?’ भन्ने प्रश्न गरेका थिए । उनले ट्रम्पलाई आपराधिक गतिविधिमा संलग्न व्यक्ति भएको टिप्पणी पनि गरेका थिए ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार बाइडेनको चुनावी अभियानका लागि आगामी केही दिन ‘गर या मर’ हुनसक्छन् । आगामी दिनहरूमा, उनले बहसमा खराब प्रदर्शनका कारण गुमाएको मैदान फिर्ता लिन प्रयास गर्नुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *