रास्वपाका मन्त्रीलक्षित बर्तौलाको प्रश्न : गोजीमा भएको राजीनामा कहाँ पुग्यो ?

नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीको गोजीमा भएको राजीनामा कहाँ पुग्यो भनी प्रश्न गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले सरकार बहुमतमा हुँदा गोजीमा राजीनामा बोकेर हिँडेका मन्त्रीहरूले सरकार अल्पमतमा हुँदा पनि राजीनामा नदिएको बताए ।

उनले मन्त्रीहरूलाई आफू पदमा बसुन्जेल कुन–कुन फाइल खोल्नुपर्ने हो खोल्नका लागि चुनौतीसमेत दिए ।

उनले भने, ‘प्रधानमन्त्रीज्यू आज पनि कुर्सीमा आसीन हुनुहुन्छ । केही मन्त्रीज्यूहरू हुनुहुन्छ । हिजो सरकार बहुमतमा थियो । सरकार चलिरहेको थियो । केही राजनीतिक पार्टीका मन्त्रीहरू सरकार बहुमतमा भएको बेलामा, सरकार चलिरहेको बेलामा गोजीमा राजीनामा हालेर बोकेर हिँड्नुहुन्थ्यो । तर, सरकार स्पष्ट अल्पमतमा परेको छ, ती साथीहरूको गोजीमा भएको राजीनामा कहाँ पुग्यो ? हामीले सुन्यौं दलबाट निर्णय भयो राजीनामा दिने, सरकारबाट फिर्ता हुने ।’

उनले दलबाट राजीनामा दिने निर्णय गरिसकेर पनि प्रधानमन्त्रीले कानमा गाउँ खाने कथा सुनाएपछि राजीनामा खुत्रुकेमा हालेको टिप्पणी गरे ।

‘प्रधानमन्त्रीले कानेखुसीमा गाउँ खाने कथा भनिदिनु भयो । त्यसपछि राजीनामा खुत्रुकेमा जतनसाथ राखेर साथीहरू फर्किनुभएको छ । मन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ । कुन फाइल कसरी खोल्नुपर्ने हो ? यो सदनमा हामी माग गर्न चाहन्छौं, जतिदिन तपाईंहरू पदमा रहनुहुन्छ, खोल्नुहोस् । माग गर्न चाहन्छु कुन–कुन फाइल कसरी खोल्नुपर्ने हो ?,’ उनले भने, ‘तपाईंहरूले धम्की मात्रै दिएर पुग्छ ? यो संसदको हार्डडिस्कमा मात्रै सुरक्षित छैन । हाम्रा दिमागमा पनि सुरक्षित छ । तपाईंले आज खोल्छु भनेका फाइल किन खोल्नुभएन ? भोलि राष्ट्रिय सरकार बनेपछि ती सूचना तपाईंले दिनुपर्छ । ’

प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्रीले बालुवाटारमा बसेर सरकार गठनको संवैधानिक प्रावधानलाई बंग्याउन खेतीपाती गरिरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *