अविरल वर्षाले खोटाङका ग्रामीण सडक अवरूद्ध

अविरल वर्षाले जिल्लाका सबै ग्रामीण सडक अवरूद्ध भएका छन् । वर्षासँगै आएको भलबाढी तथा पहिरोका कारण कच्ची अवस्थामा रहेका अधिकांश ग्रामीण सडक अवरूद्ध भएका हुन् ।

ग्रामीण सडक अवरूद्ध भएपछि जिल्लाका स्थानीय तहहरू राष्ट्रिय सडक सञ्जालबाट विच्छेद भएका छन् । स्थानीय तहसँग जोडिएका सबै ग्रामीण सडक अहिलेसम्म कच्ची अवस्थामा रहेकाले समस्या भएको यातायात व्यवसायीले बताएका छन् ।

जन्तेढुङ्गा, बराहापोखरी र खोटेहाङ गाउँपालिकाको कच्ची सडक हिलाम्य भएपछि सञ्चालन हुन सकेको छैन । केपिलासगढी र ऐँसेलुखर्क गाउँपालिकालगायतका ग्रामीण क्षेत्रमा पनि झरीले बाटो हिलाम्य हुँदा यातायात सञ्चालन हुन नसकेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिए ।

यसबाहेक सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडक पनि अवरूद्ध छ । यसले जिल्लाबाट तराई जान र तराईबाट जिल्ला आउन समस्या भएको छ । जिल्लाका केही ठाउँमा पहिरो तथा रूखले ग्रामीण सडक अवरूद्ध गरे पनि स्थानीय र प्रहरीले खुुलाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अवरूद्ध ग्रामीण सडक खुलाउने विषयमा स्थानीय तहहरूले पहल नगरेको यातायात व्यवसायीले आरोप लगाएका छन् ।

राजधानी काठमाडौँ जोड्ने मध्यपहाडी लोममार्ग भने निरन्तर सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरूषोत्तम खड्काले जानकारी दिए । मध्यपहाडी लोकमार्ग ठाउँठाउँमा झरेको पहिरोले प्रभावित भएको छ ।

यसैबीच यही असार २० गतेदेखिको अविरल वर्षाका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका–७, टेम्मामा एक घर भत्किएको छ । अविरल वर्षाकै कारण टेम्माको एक्लेबरस्थित जगबहादुर मगरको घर भत्किएको हो ।

पहिरो खस्दा हलेसी तुवाचुङ नगरपालिका–३, च्यास्मिटारका अस्तजित राईको घर भत्किएको छ । पहिरोले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१, दिक्तेल थर्पुका रमेश खड्काको घरमा क्षति पुगेको छ ।

बाढी तथा पहिरोबाट जोगिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरिरहेका छन् । मनसुनजन्य विपद् व्यवस्थापनका लागि जिल्लास्थित सबै संयन्त्र तयारी अवस्थामा राखिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए । जिल्लास्थित दशवटै स्थानीय तहले समेत विपद् व्यवस्थापनका लागि आ–आफ्नो क्षेत्रमा तयारी गरेको पाइएको छ ।

प्रहरीले गरेको सर्वेक्षणअनुसार दश स्थानीय तह रहेको जिल्लामा मनसुनजन्य विपद् बाढीबाट ८५ घरधुरीको तीन २० र पहिरोबाट चार सय ३९ घरधुरीको एक हजार सात सय ६१ जना मानिस उच्च जोखिममा रहेका छन् । मनसुन सुरू भएसँगै उच्च जोखिममा रहेका स्थानीय बासिन्दालाई मातहतका प्रहरी परिचालन गरेर सतर्कता अपनाउन आग्रह गरिएको प्रनाउ खड्काले जानकारी दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर