बाढीले कैलालीको जनजीवन प्रभावित

लगातार वर्षापछि आएको बाढीका कारण कैलालीको जनजीवन प्रभावित बन्न पुगेको छ  ।  कैलालीको भजनीमा आइतबार राति बाढी बस्तीमा पसेपछि केही परिवार विस्थापित भएका छन् । पालिका र स्थानीय मिलेर जोखिम क्षेत्रका नागरिकलाई रातभरि हुलाकी सडक र उच्च भवनमा सारिएको छ ।

स्थानीय कृष्ण धमालाका अनुसार भजनीमा केही परिवार रातभरि बस्ती छोडेर सडकमा सरेका छन् । नदी तथा खोलामा पानी बढेपछि राति बस्तीमा रहेका मानिसहरू बालबच्चा र बस्तुभाउसहित हुलाकी सडकमा बसेका हुन् । बाढीले भजनीका सबैजसो वडामा डुबान भएको छ । वडा नं ८ का सबै घर डुबानमा परेका छन् । निरन्तरको वर्षाले बस्ती डुबानमा परेपछि सयौँ परिवार सरसामानसहित सडक तथा उच्च घरमा सरेका हुन्, उनले भने, कतिपय आफन्तकोमा बसिरहेका छन् । बाढीका कारण विशेष गरी कैलालीको दक्षिण तथा पूर्वी क्षेत्र जलमग्न भएको छ । चुरेबाट बग्ने खोला र कर्णाली नदीमा पानीको सतह बढेपछि कैलालीको टीकापुर, भजनी, जानकी र जोशीपुरका तटीय क्षेत्रका बस्ती डुबानमा परेका हुन् ।

टीकापुर नगरपालिकामा केही परिवार विस्थापित भएका छन् । विपद् व्यवस्थापन शाखाका प्रमुख निर्मला चौधरीले पथरैया नदीमा आएको बाढीले वडा नम्बर ६ का पर्सेनी, भर्तापुर, भगवानपुरका ६५ घर डुबानमा परेकाले ती घरका मानिसलाई उद्धार गरी उच्च घरमा सारिएको जानकारी दिए ।  बाढी पसेपछि टीकापुरका जोखिममा रहेका केही परिवारलाई जेसिज हल र केहीलाई उच्च घरमा राखिएको छ, उनले भने, वडा वडामा रहेका विपद् व्यवस्थापन समिति र पालिकाले तालिम दिएका स्वयंसेवक खोज तथा उद्धारका लागि समुदायमा परिचालन गरेका छौँ । कर्णाली नदीमा पानीको सतह बढेमा टीकापुरका वडा नं २, ५, ७ र ८ डुबानको जोखिममा पर्दछन् ।

त्यस्तै जोशीपुर गाउँपालिकामा पनि लगातारको वर्षापछि जलमग्न भएको छ । भित्तरीयामा काडा नदीको पानी पसेर डुबान भएको जोशीपुर गाउँपालिका विपद् व्यवस्थापन शाखा प्रमुख सीता सिंहले बताए।

जानकीका अधिकांश वडा जलमग्न भएका छन् भने केही घरपरिवार विस्थापित भएका छन् । विपद् व्यवस्थापन शाखा प्रमुख नेत्रप्रसाद जैसीले वडा नं ४ र ७ का धेरै बस्ती डुबानमा परेका बताए । वडा नं ४ को गिरधरपुरमा ११ परिवार बसेका छन् । वडा नं ७ को फरेलामा १५ परिवार बसेका छन्”, जैसीले भने, “जवलपुरमा पनि दुई घर उच्च घरमा सारेका छौँ । जानकीका दर्जनौँ बस्ती जलमग्न छन् ।

बस्तीमा बाढी पस्न थालेपछि यस क्षेत्रका पालिकाहरूले नाला सरसफाइजस्ता कार्यमा तीव्रता दिएका छन् । जमेका ढल खोल्ने, डुबान क्षेत्रमा पानीको निकास गर्नेलगायतका कार्यमा खटेका छन् । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशी वर्षाका कारण जिल्लाका विभिन्न स्थान जलमग्न भएका र क्षति न्यूनीकरण गर्ने गरी टिम परिचालन गर्न निर्देशन दिएका बताए।

‘सङ्कटासन्न क्षेत्र पहिचान गरेर ती ठाउँमा सुरक्षाकर्मी र उद्धार टोली तयारी अवस्थामा खटाएका छौँ’, उनले भने, ‘विपद्मा एक अर्कामा सहकार्य गर्न सघाउन पालिकालाई पनि निर्देशन दिएका छौँ । विषयगत शाखालाई तयारीमा राखेका छौँ । सबैसँग समन्वय भइरहेको छ ।’

आइतबार राति १२ बजे कर्णाली नदीमा बाढीको तह १० दशमलव ५ पुगेको थियो । अहिले बिहान ६ बजेको मापनअनुसार कर्णालीमा जलसतह तह घट्दै गएको छ । कर्णाली नदीमा अहिले पानीको सतह ९ दशमलव ५७ मा झरेको छ । कर्णालीमा बाढीको तह १० मिटर पुग्नुलाई चेतावनी, १० दशमलव ८ पुग्नुलाई खतराको तह पार गरेको मानिन्छ ।

सुदूरपश्चिममा बाढी तथा पहिरोका कारण हुनसक्ने सम्भावित विपद्को समयमा उद्धारका लागि प्रदेशका सबै प्रहरी युनिटलाई तयारी अवस्थामा राखिएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीका वरिष्ठ प्रहरी उपरीक्षक डिल्लीराज विष्टका अनुसार जिल्ला प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय र प्रहरी चौकीमा कार्यरत ११ सय प्रहरी तैनाथ गरिएको ।

कैलाली र कञ्चनपुरमा डुबान र बाढीबाट आउने खतरालाई मध्यनजर गरेर कर्णाली, र महाकाली नदीको पानीको सतहको प्रहरीले निगरानी गरिरहेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *