ओली भष्मासुर भएर निस्किए, संसद विघटनपछि मुलुक अस्थिरतातर्फ गयो : खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भष्मासुरको संज्ञा दिएका छन् ।

सम्मानित नेता खनालले ओलीले संसद विघटन गरेकाले मुलुकमा राजनीतिक अस्थिरता बढेको र नेपालको राजनीतिलाई दक्षिणपन्थी दिशातर्फ लगेको आरोप पनि लगाए ।

पार्टी निकट प्रवासी नेपाली मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले दुई तिहाइ कम्युनिष्टहरूको शक्ति रहेको संघीय संसदलाई ओलीले विघटन गरेपछि नेपालको कम्युनिष्ट आन्दोलन पनि विखण्डन र विभाजनको मारमा परेको बताए ।

‘यो भष्मासुरको कारणले गर्दाखेरि कम्युनिष्ट आन्दोलनलाई क्रमिक रूपले दक्षिणपन्थतर्फ अधोगतितिर बढाउँदै लैजाने काम भयो । र, आफ्नै बहुमत मात्रै होइन, दुई तिहाइ बहुमत भएको संसदलाई विघटन गर्ने काम भयो,’ नेता खनालले भने, ‘जसले गर्दाखेरि नेपालको राजनीतिलाई दक्षिणपन्थी दिशातर्फ लग्ने, अस्थिरतातर्फ लैजाने, कम्युनिष्ट आन्दोलनलाई दिशाहीन बनाउने कामहरू भयो ।’

उनले कम्युनिष्ट आन्दोलनलाई विखण्डन गर्ने ओलीको गलत कदमको विरोधमा आफूहरूले एमालेबाट विद्रोह गर्नुपरेको पनि बताए ।

सम्मानित नेता खनालले आफूहरूले दक्षिणपन्थी अवसरवादीविरूद्धको संघर्षलाई अघि बढाउने गरी नेकपा (एस) लाई अघि बढाएको दाबी पनि गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *