
आफ्नो निवासका सुरक्षा प्रमुखको निधनप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त


नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निजी निवास बालकोटमा सुरक्षा प्रमुख रहेका सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) उमेश थापाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत शनिबार साँझ इन्स्पेक्टर थापाको निधनप्रति दुःख व्यक्त गरेका हुन् । उनले थापाको परिवारलाई समवेदना पनि व्यक्त गरेका छन् ।
‘धेरै नबोल्ने र लजालु स्वभाव । काममा जहिले पनि तम्तयार,’ ओलीले लेखेका छन्, ‘सुरक्षामा खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर भाइ उमेश थापाको निधनको खबरले दुःखी छु ।’
अध्यक्ष ओलीले इन्स्पेक्टर थापाको निधनपछि आफू शनिबार कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नभएको बताएका छन् ।
‘आज म बाहिरका कुनै पनि कार्यक्रममा सहभागी भइनँ । हिजो साँझ छुट्टिएर आफ्नै घर गएका उमेश भाइको बिहान निधनको खबर आयो । परिवारजनमा समवेदना व्यक्त गर्दछु,’ ओलीले लेखेका छन् ।
सशस्त्र प्रहरी प्रधान कार्यालय, हलचोक दरबन्दी भई ओलीनिवास बालकोटमा सुरक्षा प्रमुखको जिम्मेवारीमा खटिएका इन्स्पेक्टर थापाको शनिबार बिहान मृत्यु भएको हो ।
प्रहरीका अनुसार ४२ वर्षीय इन्स्पेक्टर थापा शुक्रबार बेलुका खाना खाएर भक्तपुरको सूर्यविनायक नगरपालिका–९, गुण्डुस्थित आफ्नो घरमा सुतेकामा शनिबार बिहान ५:३० बजे अचेत भेटिएका थिए ।
उनलाई तत्काल उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा बिहान ६:५० बजे चिकित्सकले मृत्त घोषणा गरेका हुन् ।
उनको मृत्युको कारण यकिन भइसकेको छैन भने शव पोष्टमटर्मका लागि टिचिङ अस्पताल, महाराजगञ्जमा राखिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया