वर्षाका कारण अवरूद्ध बीपी र अरनिको राजमार्ग एकतर्फी सञ्चालन
बाढीका कारण अवरूद्ध भएको बीपी र अरनिको राजमार्ग अहिले एकतर्फी सञ्चालनमा आएका छन् । निरन्तर वर्षाका कारण सडकमाथिबाट लेदोसहित आएको बाढीका कारण आज बिहानदेखि दुवै राजमार्ग अवरूद्ध भएकामा प्रहरी र स्थानीय जनप्रतिनिधिको पहलमा एकतर्फी सञ्चालनमा आएका हुन् ।
काभ्रेपलाञ्चोक भएर सञ्चालित बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकाको मङ्गलटार, नार्के, ल्हासकोट र चारयसबेँसी तथा अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिकाको बाउन्नकिलो र धुलिखेल नगरपालिकाको तिरतिर धारामा भलसहितको बाढीका कारण अवरूद्ध भएको सडक अहिले एकतर्फी सञ्चालन आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।
शुक्रबार रातिदेखि परेको निरन्तर वर्षाका कारण आज बिहान रोशी-८, नार्के र चारसयबेँसी, वडा नं ९ को मङ्गलटारस्थित मङ्गलजनविजय मावि अगाडि, वडा नं ११ कालढुङ्गा र वडा नं १२ को माम्तिस्थित बीपी राजमार्गमा खहरेखोलाबाट लेदो आई सडक अवरोध भएकामा प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दाको पहलमा सडक दुईतर्फी सञ्चालनका लागि काम भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार वर्षा निरन्तर भइरहेकाले समस्या भएका ठाउँमा प्रहरी परिचालन गरी सडक खुलाउने निरन्तर प्रयास भइरहेको छ । रोशी-७, ल्हासकोटस्थित बिपी राजमार्गमा खहरेखोलाबाट लेदो आई सडक अवरूद्ध भएकामा यहाँ रातिदेखि प्रहरीले सडक सञ्चालनको पहल गरेको थियो ।
स्थानीय र जनप्रतिनिधिसँगको समन्वयमा जेसीबी र स्काभेटरको सहयोगमा सडक खुलाएर अहिले एकतर्फी सवारी सञ्चालन भइरहेका प्रनाउ श्रेष्ठले जानकारी दिए ।
आज बिहान अरनिको राजमार्ग खण्डअन्तर्गत पाँचखाल नगरपालिका-८ को ५२ किलोस्थित खहरेखोलाबाट लेदोसहितको बाढी आएर सडक अवरूद्ध भएको थियो । सो स्थानमा पनि अहिले एकतर्फीरुपमा सवारी सञ्चालन भइरहेका उनले बताए ।
उक्त स्थानलगायत धुलिखेल नगरपालिका-८, तिरतिरेधारा नजिकै पहिरो आउनुका साथै रूख ढलेर अवरूद्ध भएको सडक अहिले एकतर्फी सञ्चालन भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए । वर्षा निरन्तर भइरहेकाले सवारीसाधनलाई सहज रूपमा सञ्चालन गर्न समस्या भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया