अविरल वर्षाकाे वितण्डा : ठाउँठाउँमा सडक अवरूद्ध, तराईमा डुबान

अविरल वर्षापछि देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरूद्ध भएका छन् । वर्षा नरोकिएका कारण सडक अवरूद्ध हुने क्रम बढ्दै गएको छ । तराईमा बाढीका कारण बस्ती डुबानमा परेका छन् ।

सिद्धार्थ राजमार्ग अवरूद्ध
अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्ग विभिन्न ठाउँमा अवरुद्ध भएको छ । बिहीबार रातिदेखि निरन्तर आइरहेको पानीले सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको ठाउँ ठाउँमा पहिरो गएको छ । स्याङ्जा–वालिङ सडकको भिरकोट–४, छाङ्छाङ्दी नजिक आज बिहान पहिरो जाँदा सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।

यस वर्ष जिल्लामा भारी वर्षा भइरहेको छ । वर्षाले सिद्धार्थ राजमार्गको वालिङ–१, कालीमाटीमा पनि सडकमाथिबाट पहिरो खस्दा अवरूद्ध भएको छ । वर्षा निरन्तर भइरहेकाले सडक पुनः सञ्चालन गर्न कठिनाइ भइरहेको छ ।

सिद्धार्थ राजमार्गका केही ठाउँमा पहिरो हटाएर एकतर्फी यातायात सञ्चालन गरिए पनि धेरै ठाउँमा पहिरो गएकाले पूर्ण रूपमा सञ्चालनमा आउन समय लाग्ने भएको छ । सिद्धार्थ राजमार्गसँगै ग्रामीण क्षेत्रका अन्य सडक पनि पहिरोले अवरूद्ध छन् । यात्रु बीच बाटोमै रोकिएका छन् ।

बीपी राजमार्गमा यातायात ठप्प
पहिरोले बीपी राजमार्ग अवरूद्ध भएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–२, कमिरेफाँटमा पहिरोले सडक अवरूद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार राजमार्गमाथिबाट पहिरोसहित बगेर आएको लेदोले आज बिहानैदेखि यातायात सेवा ठप्प छ ।

राजमार्ग अवरूद्ध हुँदा बिहानैदेखि सयौँ सवारीसाधन बाटोमै रोकिएका छन् । यात्रु अलपत्र परेका छन् । वर्षा निरन्तर भइरहेकाले अवरूद्ध राजमार्ग खुलाउन समस्या भएको छ । डोजरको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको प्रहरी उपरीक्षक काफ्लेले बताए ।

यसैबीच मध्यमहाडी राजमार्गन्तर्गत रहेको गोलञ्जोर गाउँपालिका–६ अकरेभिर र फिक्कल गाउँपालिका–२, सुनामबेँसीमा पनि पहिरोसहित बगेर आएको लेदोले बिहानैदेखि सडक अवरूद्ध भएको थियो । अहिले सो क्षेत्रमा पहिरो पन्छाएर यातायात सेवा सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

हेटौँडा–काठमाडौँ सडकखण्डमा पहिरो
बिहानैदेखि परेको वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी–दक्षिणकाली सडकखण्ड अवरूद्ध बनेको छ । उक्त सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर–२, छेपारेमा पहिरो खस्दा बाटो अवरूद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ठूलो पहिरो गएकाले तत्काल बाटो खुलाउन सकिने अवस्था छैन । प्रहरीले सिस्नेरी हुँदै काठमाडौँ आउने बाटो अवरूद्ध बनेकाले अन्य बाटो प्रयोग गर्न आग्रह गरेको छ ।

यस्तै भीमफेदी–फाखेलतर्फको सडक पनि पहिरोका कारण अवरूद्ध भएको छ । इन्द्रसरोवर–५, महालक्ष्मी खोलामा पहिरो गएका कारण भीमफेदी–फाखेल–मातातीर्थ सडकखण्ड अवरूद्ध बनेको प्रहरीले जनाएको छ ।

यसैगरी कान्ति राजपथको ललितपुर खण्डमा पहिरो गएका कारण आज बिहानैदेखि सडक अवरूद्ध छ । ललितपुरको बागमती गाउँपालिका–३, पाङजुरे (भट्टेडाँडा नजिक) मा पनि पहिरो गएको छ । पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । त्रिभुवन राजपथ, हेटौँडा–फापरबारी–सिन्धुली खण्ड र पूर्वपश्चिम राजमार्गमा भने यातायात सेवा सञ्चालनमा छ ।

बेँसीशहर–चामे सडक अवरूद्ध
पहिरोले बेसीँशहर–चामे सडक अवरूद्ध भएको छ । यस सडकअन्तर्गत लमजुङ जिल्ला मर्स्याङ्दी गाउँपालिका–४, हावाडाँडा सडकमाथिबाट आज बिहान पहिरो आउँदा पूर्ण रूपमा सडक अवरूद्ध भएको डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी किरण पोखरेलले सो ठाउँमा ठूलो पहिरो आएको र पहिरो हटाउन समस्या भइरहेको बताए । पहिरोले सडक अवरूद्ध भएपछि सवारीसाधन बाटोमै थन्किएका छन् । चामे गाउँपालिका–१, तिमाङ खोलामा गत मङ्गलबार आएको बाढीले काठेपुल र मोटरेबल पुल बगाएपछि हालसम्म सडक सञ्चालनमा आउन नसकेको सूचना अधिकारी पोखरेलले बताए ।

घोराही–तुलसीपुर सडक अवरूद्ध
दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत सेवारखोलामा बनाएको डाइभर्सन बगेको छ । बाढीले आज बिहान उक्त डाइभर्सन बगाएको हो । सो ठाउँमा असहले आवतजावत ठप्प छ । जिल्ला प्रशासन कार्यालय दाङले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ । घोराही उपमहानगरपालिका–१६, सेवारखोलामा चार लेनको पक्की पुल अधुरै छ ।

कर्णाली राजमार्ग अवरूद्व
शुक्रबारदेखि परेको वर्षाका कारण पहिरो खसेर कर्णाली राजमार्गको कालिकोट सडकखण्ड अवरूद्ध भएको छ । कालिकोटको हुल्म बजारलगायत ठाउँमा पहिरोले सडक अवरूद्ध छ । सडक अवरूद्ध हुँदा सुर्खेत–जुम्लाका लागि छुटेका सवारीसाधन बाटोमै रोकिएका छन् । सडक खुलाउने प्रयास भइरहेको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी वीरबहादुर ओलीले जानकारी दिए ।

कालीगण्डकी करिडोर अवरूद्ध
अविरल वर्षाका कारण कालीगण्डकी करिडोर अवरूद्ध भएको छ । दुई दिनदेखिको निरन्तर वर्षाका कारण उक्त करिडोरको बागलुङ र पर्वत खण्डमा सडक अवरूद्ध भएको हो ।

बागलुङको जैमिनी नगरपालिका–बिनामारे क्षेत्रमा पहिरो झर्दा करिडोर अवरूद्ध भएको छ । करिडोर अवरूद्ध हुँदा जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारेलगायतका स्थानदेखि जिल्ला सदरमुकाम बागलुङ बजार आउने सावारीसाधान बाटोमै ठप्प रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए । भारी वर्षाका कारण सडक खुलाउने कार्यमा बाधा पुगेको छ ।

‘लगातार वर्षा भइरहेकाले पहिरो झर्ने क्रम रोकिएको छैन,’ प्रहरी नायब उपरीक्षक यादवले भने । वर्षाका कारण अवरूद्ध मध्यपहाडी लोकमार्गको बडिगाड गाउँपालिका–२ डुडियामा भने यातायात सञ्चालनमा आएको छ ।

मालढुङ्गा–बेनी सडक अवरूद्ध
यसैगरी म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत पर्वतको मालढुङ्गा–बेनी सडक पनि अवरूद्ध भएको छ । भारी वर्षाका कारण कुश्मा नगरपालिका–१, मालढुङ्गा नजिक भिरबाट ढिस्कोसहित पहिरो खसेपछि सडक अवरूद्ध बनेको हो ।

आज बिहानदेखि सडक अवरूद्ध बनेको पर्वतका ट्राफिक प्रहरी प्रमुख सीताराम ओझाले जानकारी दिए । सडक अवरूद्ध भएपछि म्याग्दी र मुस्ताङदेखि छुटेका सवारीसाधन खनियाघाटमा थन्किएका छन् । अन्यत्रबाट आएका सवारीसाधन मालढुङ्गामा रोकिएका छन् ।

बाढीले वीरगञ्जका विभिन्न ठाउँ डुबानमा
गए रातिदेखि लगातार परेको वर्षाले पर्साको वीरगञ्ज महानगरपालिकाका विभिन्न वडा डुबानमा परेका छन् । महानगरपालिकाको छपकैया, बजारछपकैया, घडिअर्वा, रानीघाट, श्रीपुर, नगवा, राधेमाईलगायत ठाउँ डुबानमा परेका छन् ।

पानी सडकमै जम्मा भएर स्थानीयको घरभित्र पस्न थालेको छ । जमेको पानीलाई निकास दिन बिहानैदेखि उपकरण तथा कर्मचारी परिचान गरिएको वीरगञ्ज महानगरपालिकाको सरसफाइ शाखा प्रमुख सरफुद्दिन मियाले जानकारी दिए । डुबान भएका क्षेत्रमा नाला सफा गर्ने काम भइरहेको छ ।

वर्षा भएपछि यहाँका किसान खुसी भएका छन् । पानी परेपछि रोपाइँ गर्न पाइने आशले उनीहरू खुसी भएका हुन् । पर्सामा कुल ५४ हजार पाँच सय हेक्टर खेतियोग्य जग्गा रहेको छ । यसमध्ये ४७ हजार हेक्टरमा धान खेती हुने गरेको छ ।

नदी तथा खोला छेउछाउका बासिन्दालाई सतर्क रहन आग्रह
यस वर्ष गत वर्षको तुलनामा बढी वर्षा हुने भएकाले नदी तथा खोला छेउछाउका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान कार्यालय धरानका प्रमुख रूद्रबहादुर परियारले यस वर्ष औसतभन्दा बढी पानी पर्ने भएकाले कोशी प्रदेश र मधेस प्रदेशका नदी तथा खोलानाला छेउछाउका बासिन्दालाई सतर्क रहन आग्रह गरे ।

‘साना खोलानालामा पनि आकस्मिक बाढी आउने सम्भावना रहन्छ,’ उनले भने ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले वर्षाबाट हुने क्षति न्यून गर्न स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका स्थानीय प्रतिनिधिलगायतसँग छलफल भइरहेको बताए । बाढीपहिरोका कारण जुनसुकै समयमा पनि विपद् निम्तिन सक्ने भएकाले कार्यालय प्रमुखहरूलाई जिल्ला नछाड्न निर्देशन दिएको उनले बताए ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *