सेवानिवृत्त एआईजी जोशी र डीआईजी पोखरेललाई पुलिस हेडक्वार्टरले गर्‍यो बिदाइ

प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले प्रहरी सेवाबाट हालै सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमेशराज जोशी र प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोषराज पोखरेललाई बिदाइ गरेका छन् ।

शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच उनीहरूलाई बिदाइ गरिएको हो ।

बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले संगठनले सुम्पिएका हरेक जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी सेवानिवृत्त भएका वरिष्ठ प्रहरी अधिकृतहरूको व्यवसायिकता, संगठनप्रतिको निष्ठा, बहुआयामिक प्रतिभा, लगनशीलता, नैतिकता र इमानदारिताको उच्च प्रशंसा गरे ।

प्रहरी महानिरीक्षक कुँवरले संगठनमा सक्रिय सदस्यको रूपमा रहँदा योग्य, अनुशासित, अनुभवी र निष्ठावान् सदस्यको रूपमा आफूलाई परिचित गराउँदै सेवा अवधि सफलतापूर्वक पूरा गरेकामा बधाई दिए ।

संगठनले सुम्पिएका हरेक पदीय दायित्व सफलतापूर्वक निर्वाह गरी हासिल गरेको अनुभव तथा विज्ञता संगठनको हितका लागि सदैव आवश्यक हुने भएकाले आगामी दिनमा समेत सेवानिवृत्त अधिकृतहरूको उपलब्धिमूलक सत्प्रयासको अपेक्षा रहेको उनले बताए ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवले सेवानिवृत्त प्रहरी अतिरिक्त महानिरीक्षक जोशी र प्रहरी नायब महानिरीक्षक पोखरेललाई मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षक जोशी र प्रहरी नायब महानिरीक्षक पोखरेलले आफ्नो सेवा अवधिमा गरेका अनुभव समेटी आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षक जोशी र प्रहरी नायब महानिरीक्षक पोखरेल वि. सं. २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका थिए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर