सहकारी ठगी संसदीय छानबिन विशेष समिति बैठक

वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी छैन : नेपाल प्रहरी

नेपाल प्रहरीले वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी आफूहरूलाई नभएको बताएको छ । सहकारी संस्था बचत दुरूपयोग संसदीय छानबिन विशेष समितिको बैठकमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र नेपाल प्रहरीको सीआईबी र अपराध अनुसन्धान विभागका अधिकारीहरूले सो कुरा बताएका हुन् ।

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकमा नेपाल प्रहरीको सहकारी ठगी प्रकरणको अनुसन्धानमा संलग्न अधिकारीहरूले सहकारी नियमनको काम नेपाल प्रहरीको नभएको पनि बताएको विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिए ।

गृहसचिव एकनारायण अर्यालसहित उपस्थित बैठकमा प्रहरी अधिकारीहरूले सहकारी ठगी प्रकरणमा मुछिएका २९४ जनालाई मात्रै पक्राउ गरिएको र ८५६ जना फरार रहेको पनि समितिलाई जानकारी गराएका थिए । त्यस क्रममा अनुसन्धानको यो प्रक्रियाबाट सहकारीपीडितले न्याय पाउने सम्भावना नदेखिएको पनि प्रहरी अधिकारीहरूको निष्कर्ष रहेको विशेष समितिका सभापति थापाले बताए ।

विशेष समितिले सो सम्बन्धमा नेपाल राष्ट्र बैंक र बैकिङ क्षेत्रसँग पनि छलफल गर्ने भएको छ । यसको समग्र स्थितिको बारेमा नेपाल राष्ट्र बैंक र बैकिङ क्षेत्रसँग पनि छलफल गर्ने निष्कर्षमा पुगिएको विशेष समितिले जनाएको छ ।

सभापति थापाले हाल समितिले सम्बन्धित पक्षसँग जानकारी लिने क्रम जारी राखेको, यसपछि प्रमाण संकलनको, विश्लेषणको चरणमा प्रवेश गर्ने कार्यसूची रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर