ओपन एआई र माइक्रोसफ्टविरूद्ध प्रतिलिपि अधिकार उल्लंघनको मुद्दा

अमेरिकी गैरसरकारी संस्था सेन्टर फर इनभेस्टिगेटिभ रिपोर्टिङले बिहीबार च्याटजीपीटी निर्माता ओपन एआई र यसको व्यापार साझेदार माइक्रोसफ्टविरूद्ध आफ्नो सामग्रीको अनधिकृत प्रयोग गरेको भन्दै मुद्दा दायर गरेको छ ।

मदर जोन्स र रिभल प्रकाशन गर्ने गैरनाफामूलक सो संस्थाले ओपन एआईद्वारा आफ्नो सामग्री बिनाअनुमति र क्षतिपूर्ति नदिई प्रयोग गरेर संस्थाको पत्रकारिताको प्रतिलिपि अधिकार उल्लङ्घन गरेको बताएको छ । अमेरिकाको न्युयोर्कस्थित सङ्घीय अदालतमा दायर गरिएको यस मुद्दामा ओपन एआईको व्यवसाय ‘प्रतिलिपि अधिकार भएका कार्यहरूको शोषणमा निर्मित’ भनेर वर्णन गरेका छन् । समाचार र लेखहरूको एआईले उत्पादन गरेका सारांशहरूले प्रकाशकहरूलाई नोक्सानमा परेको दाबी गरिएको छ ।

सो सेन्टरको कार्यकारी प्रमुख मोनिका बाउरलेनले यो असाध्यै खतरनाक भएको उल्लेख गर्दै एसोसिएटेड प्रेसलाई भनिन्, ‘हाम्रो अस्तित्व पाठकहरूले हाम्रो कामको महत्त्वले गर्दा र यसलाई समर्थन गर्ने निर्णयमा निर्भर गर्दछ । जब पाठकहरूले हाम्रो कामसँग सम्बन्ध विकास गर्न सक्दैनन्, जब उनीहरूले मदर जोन्स वा रिभललाई भेट्दैनन्, तब उनीहरू एआईको प्रयोग तर्फ लाग्दछन् ।’

कार्यकारी प्रमुख मोनिका बाउरलेनका अनुसार यसले स्वतन्त्र न्युजरूमको रूपमा रहेको आफ्नो अस्तित्व धराशायी बनाउँछ र अन्य समाचार संस्थाहरूको भविष्यलाई पनि खतरामा पार्न सक्दछ ।

यी कम्पनीहरूले पहिले नै द न्युयोर्क टाइम्स र अन्य मिडिया संस्थाहरूका साथै प्रसिद्ध लेखक जोन ग्रिशम, जोडी पिकोल्ट र जर्ज आरआर मार्टिन बाट प्रतिलिपि अधिकार मुद्दाहरू लडिरहेका छन् । ओपन एआई र माइक्रोसफ्टविरूद्ध म्यानहाट्टनको सङ्घीय अदालतमा प्रतिलिपि अधिकारविरूद्ध परेको यो पछिल्लो मुद्दा हो । एआई कम्पनीहरूले सान फ्रान्सिस्कोको सङ्घीय अदालतमा हास्य कलाकार सारा सिल्भरम्यान लगायत अन्य लेखकहरूले हालेको छुट्टै मुद्दा पनि खेपिरहेका छन् ।

केही समाचार संस्थाहरू ओपन एआईसँग लड्नुको सट्टा उनीहरूसँग सहकार्य गर्न अगाडि बढेका छन् । एआई प्रणालीहरूलाई तालिम दिन प्रयोग गर्न सकिने समाचार सामग्रीका लागि क्षतिपूर्ति प्राप्त गर्न सम्झौताहरूमा हस्ताक्षर पनि भइरहेको छ । पछिल्लो समयमा यस्तै सम्झौताअनुरूप अमेरिकाको टाइम म्यागेजिनले आफ्नो विगत १०१ वर्षका विस्तृत अभिलेखहरू एआईलाई प्रयोग गर्न दिने बिहीबार घोषणा गरेको छ ।

ओपन एआई र अन्य प्रमुख एआई विकासकर्ताहरूले सामान्यतया आफ्नो डेटा स्रोतहरू सार्वजनिक गर्दैनन् । तर, उनीहरूले सार्वजनिक रूपमा पहुँचयोग्य अनलाइन पाठ, चित्रहरू र अन्य सञ्चार सामग्रीहरूको आफ्नो एआई प्रणालीहरूलाई तालिम दिनका लागि अमेरिकी प्रतिलिपि अधिकार कानुनको ‘उचित प्रयोग’ सिद्धान्तद्वारा सुरक्षित गरिएको तर्क गर्दै आएका छन् ।

सेन्टर फर इनभेस्टिगेटिभ रिपोर्टिङको यस मुद्दाले ओपन एआईले आफ्नो च्याट बोट टेक्नोलोजीको पुरानो संस्करण निर्माण गर्न प्रयोग गरेको डाटा सेटमा सन् १९९३ देखि अनलाइन प्रकाशित भएको ४८ वर्ष पुरानो प्रिन्ट म्यागजिन मदर जोन्सको वेबसाइटका हजारौँ लिङ्कहरू रहेको भनेको छ । एआई प्रशिक्षणमा प्रयोग गरिएको पाठको सामान्यतया कथाको लेखक, शीर्षक वा प्रतिलिपि अधिकार सूचनाको बारेमा जानकारी राखिएको थिएन ।

गत वर्ष ४००० भन्दा बढी लेखकहरूले ओपन एआई र अन्य प्राविधिक कम्पनीहरूका कार्यकारी प्रमुखहरूलाई च्याट बोटहरू निर्माणमा शोषणकारी अभ्यासहरूको आरोप लगाउँदै सामूहिक हस्ताक्षर पत्र सार्वजनिक गरेका थिए ।

एसोसिएटेड प्रेसले ओपन एआईसँग गत वर्ष लाइसेन्स सम्झौताहरू गरिसकेको छ । यसका साथै द वाल स्ट्रिट जर्नल, न्युयोर्क पोस्ट प्रकाशक न्युज कर्पोरेसन, द एट्लान्टिक, जर्मनीको एक्सेल स्प्रिन्जर, स्पेनको प्रिसा मिडिया, फ्रान्सको ले मोन्डे अखबार र लन्डनको फाइनान्सियल टाइम्सजस्ता सञ्चार संस्थाहरूले पनि लाइसेन्स सम्झौताहरू गरिसकेका छन् ।

मदर जोन्स र खोजी रिपोर्टिङ केन्द्र दुवै १९७० मा स्थापित भएका थिए र यो वर्षको सुरूवातमा एक भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *