नयाँ सत्ता समीकरणसँगै अर्थतन्त्र सुधार हुने निजी क्षेत्रको विश्वास

नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नयाँ सत्ता समीकरण बन्ने भएसँगै निजी क्षेत्र उत्साहित देखिएको छ । मुलुकका दुई ठूला राजनीतिक दलबीच भएको सत्ता समिकरणसँगै संकुचनमा पुगेको अर्थतन्त्र लयमा फर्किने र बजारमा आत्माविश्वास बढ्ने विश्वास निजी क्षेत्रको छ ।

नयाँ सत्ता समीकरणले अर्थतन्त्रमा सुधार आउने र व्यवसायीहरूलाई लगानीको वातावरण बन्नेमा निजी क्षेत्र आशावादी देखिएको छ । दुई ठूला राजनीतिक दलहरूबीच सत्ता सहकार्यका लागि भएका संविधान संशोधन, निर्वाचन प्रणाली र प्रदेश संरचना हेरफेर लगायतका विषयहरूले थप आशावादी र उत्साहित बनाएको धारणा निजी क्षेत्रले व्यक्त गरेको छ ।

उद्योगी व्यवसायीहरूले पुराना ठूला राजनीतिक शक्ति एक ठाउँमा आएर स्थिर सरकार बन्नु निजी क्षेत्रका लागि सुखद् पक्ष भएको भन्दै राजनीतिक स्थिरतासँगै आर्थिक र नीतिगत स्थायित्वमा जोड दिनुपर्ने आवश्यकता रहेको निजी क्षेत्रको भनाइ छ । देशको अर्थतन्त्रलाई ठोस कार्यदिशा दिन र सबल बनाउन दुई राजनीतिक दलको सत्ता समीकरण उचित देखिएको निजी क्षेत्रका उद्योगी व्यवसायीहरूले बताएका छन् ।

अर्थतन्त्र सुस्ताएर घरजग्गा कारोबार खुम्चिएको, उद्योग व्यवसाय ३० देखि ४० प्रतिशत क्षमतामा मात्रै सञ्चालन भएको, उद्योगी व्यवसायीहरूले बैंकको ब्याज तिर्न नसकेको र पुँजीबजार माथि उठ्न नसकेको अवस्थामा नयाँ सत्ता समीकरणले यी समस्या समाधान गर्नेमा आशावादी बनाएको उनीहरूको भनाइ छ । व्यवसायीहरूले ६-६ महिनामा सरकार परिवर्तन हुनु अस्थिरता भए पनि अब बन्ने सत्ता समीकरणले राजनीतिक स्थायित्व र स्थिर सरकार दिनेमा निजी क्षेत्र आशावादी बनाएको प्रतिक्रिया दिएका छन् ।

उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले दुई ठूला दल मिल्नुले राजनीतिक स्थिरता र आर्थिक स्थायित्व हुने अपेक्षा रहेको बताइन् । उनले आर्थिक स्थायित्वका लागि दुई ठूला राजनीतिक दलको सत्ता समीकरण उपयुक्त भएको धारणा राखिन् । उनले नयाँ सत्ता समीकरणको प्रशासनिक खर्च कम गर्न प्रशासनिक पुनरवलोकनका लागि संविधान संशोधन गर्ने, आर्थिक विकास गर्ने लगायतका सहमति निजी क्षेत्रका लागि स्वागतयोग्य रहेको उल्लेख गरिन् ।

पूर्वअध्यक्ष राणाले देशको आर्थिक उन्नतिका लागि सबै राजनीतिक दलहरू मिल्नुको विकल्प नभएको भन्दै निजी क्षेत्रलाई सबल बनाए मात्र देशको अर्थतन्त्रको सबलीकरण हुन सक्ने उल्लेख गरिन् । उनले केही वर्षदेखि धराशायी भएको मुलुकको अर्थतन्त्र राजनीतिक स्थिरता भए मात्रै लयमा आउने बताइन् ।

उनले ३० देखि ४० प्रतिशत क्षमतामा उद्योगहरू सञ्चालन भएको अवस्थामा नयाँ सत्ता समीकरणसँगै यो क्षेत्र चलायमान हुने विश्वास व्यक्त गरिन् । उनले मुख्य भन्सारहरूमा नै राजस्व संकलन कम हुँदै मुलुकको अर्थतन्त्र ओरालो लागेको अवस्थामा राजनीतिक दलहरूले ठीक समयमा समीक्षा गरेर गरेको गठबन्धन स्वागतयोग्य भएको उल्लेख गरिन् । उनले सत्ता समीकरण परिवर्तन भएको चार महिनामा दुई ठूला राजनीतिक दलहरू मिलेर सरकार चलाउने र अर्थतन्त्रको विकास गर्ने सहमति सकारात्मक रहेको बताइन् ।

उनले ठूला दल मिलेर बनेको सरकार स्थिर हुन आवश्यक रहेको बताइन् । नयाँ बन्ने सरकार पनि तीन-चार महिनामा परिवर्तन हुर्ने परिस्थिति आए फेरि अर्थतन्त्र संकटमा जान सक्ने उनको भनाइ छ । उनले दुई ठूला राजनीतिक दलको सत्ता समीकरणले अर्थतन्त्र सबल बनाउनका लागि नयाँ सोच बनाउन आवश्यक रहेको बताइन् । उनले निजी क्षेत्रले लिएका सुझावलाई आत्मसात गरेर सरकार अघि बढ्दा व्यापार व्यवसाय र उत्पादन वृद्धि हुने विश्वास व्यक्त गरिन् ।

पूर्वअध्यक्ष राणाले सरकारले पर्यटन क्षेत्रको विकासका लागि ठूला अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालन, कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गरी निजी क्षेत्रसँग सहकार्य गर्ने विश्वास रहेको धारणा राखिन् ।

उनले दुई ठूला राजनीतिक दलको सत्ता समीकरणले नयाँ परिवर्तन भएको जस्तो आभास निजी क्षेत्रलाई भएको बताइन् । उनले सरकारले अर्थतन्त्रलाई प्राथमिकता दिनेमा पनि आशावादी रहेको बताइन् । उनले वर्तमान सरकारले ल्याएको बजेटले संकुचनमा रहेको अर्थतन्त्रलाई माथि उठाउन नसक्ने भन्दै अब आउने सरकारले परिमार्जन गर्न आवश्यक रहेको बताइन् । उनले नयाँ सरकारले निजी क्षेत्रमैत्री व्यवहार गर्ने अपेक्षा पनि जगाएको उल्लेख गरिन् ।

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आर्थिक एजेण्डामा नयाँ गठबन्धनले समान धारणा बनाएर काम गर्न आवश्यक रहेको बताए । उनले दुई ठूला राजनीतिक दलहरूले सत्ता समीकरण गरेर स्थिर सरकार बनाउनुले निजी क्षेत्र खुसी रहेको प्रतिक्रिया दिए । उनले दुई ठूला राजनीतिक दलको सत्ता समीकरणका लागि संविधान संशोधन गर्ने र आर्थिक स्थायित्व दिने सहमतिले अर्थतन्त्रमा सुधार आउनेमा निजी क्षेत्र आशावादी भएको बताए ।

उनले अर्थतन्त्र अस्तव्यस्त भएको अवस्थामा स्थिर सरकार बनाउने गरी भएको सत्ता समीकरणलाई निजी क्षेत्रले स्वागत गरेको उल्लेख गरे । राजनीतिक स्थायित्वसँगै अब बन्ने सरकारले आर्थिक स्थायित्वलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए । मल्लले नयाँ सत्ता समीकरणले साना दललाई पनि समेटेर संविधान संशोधन गरी अर्थतन्त्रलाई सबल बाटोमा लैजानुपर्ने बताए ।

निवर्तमान अध्यक्ष मल्लले नयाँ सत्ता समीकरणको सरकारले मुुलुकको अर्थतन्त्रलाई सबल बनाउने विश्वास रहेको भन्दै सधैं राजनीतिक खिचातानीभन्दा पनि आर्थिक स्थायित्वको बाटोमा जान जरूरी भएको बताए । उनले मुलुकको अर्थतन्त्रमा आएको सुस्तता अस्थिर राजनीति र अस्थिर सकारका कारण भएको भन्दै दक्षिण एशियामा सबैभन्दा कमजोर आर्थिक अवस्था भएको मुलुक नेपाल बनेको बताए ।

उनले मुलुकमा राजनीतिक स्थायित्व हुन नसक्दा आर्थिक स्थिति अस्तव्यस्त भएको बताए । उनले राजनीतिक स्थायित्वका लागि दुई पार्टीले अन्य पार्टीहरूलाई पनि समेटेर मुलुकको अर्थतन्त्र सबल बनाउने गरी काम गर्ने निजी क्षेत्रलाई आशा रहेको बताए ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले नयाँ सत्ता समीकरणसँगै पुँजीबजारमा सुधार हुने अपेक्षा गरेको बताए । उनले अस्थिर रहेको सरकारलाई स्थिरता दिने गरी भएको दुई ठूला राजनीतिक दलको समीकरण लगानीकर्ताका लागि सुखद् पक्ष भएको बताए । उनले राजनीतिक अनिश्चितताका कारण पुँजीबजारले गुमाएको आत्मविश्वास लयमा आउने विश्वास रहेको बताए ।

अध्यक्ष ढकालले नेकपा (एमाले) र नेपाली कांग्रेसबीच बनेको नयाँ सत्ता समीकरण मुलुकको आवश्यकता भएको दाबी गरे । उनले नयाँ समीकरणले उद्योगी व्यवसायी, लगानीकर्ता र समग्र निजी क्षेत्रलाई उत्साह जगाएको उल्लेख गरे ।

उनले स्थिर सरकारसँगै आर्थिक नीतिहरू पनि स्थिर बनाउँदै निजी क्षेत्रमैत्री सरकार बन्नुपर्ने बताए । अध्यक्ष ढकालले स्थिर सरकार भएसँगै निजी क्षेत्र उत्साहित भएर लगानीको वातावरण बन्नेमा आशावादी भएको बताए । उनले उद्योग व्यवसाय, घरजग्गा कारोबार सुस्त भएका कारण बैंकको ब्याजदर व्यवसायीहरूले तिर्न नसकेको अवस्थामा सरकारले निजी क्षेत्रसँग समन्वय गरेर समस्या समाधान गर्नेमा आशा पलाएको उल्लेख गरे ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *