धरापमा सुदूरपश्चिमका मुख्यमन्त्री साेडारीकाे पद, सरकारबाट बाहिरियो एमाले

नेकपा एमाले सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिएकाे छ । यससँगै नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारी नेतृत्वको सरकार दुई महिनामै संकटमा परेको छ ।

एमाले प्रदेश संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय बिहीबार गरिसकेको छ ।

समर्थन फिर्ताको निर्णयसँगै अहिले एमालेका मन्त्रीहरू राजीनामा दिन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढी पुगिसकेका छन् ।

तर, मुख्यमन्त्री सोडारी अहिले प्रदेश राजधानी धनगढीमा छैनन् । उनी काठमाडौंमा जारी एकीकृत समाजवादीको महाधिवेशनमा भाग लिइरहेका छन् ।

सोडारी अनुपस्थित भएपछि राजीनामा र समर्थन फिर्ताको पत्र मुख्यमन्त्रीको कार्यालयमा दर्ता गर्न लागिएको एमाले दलका नेता राजेन्द्रसिंह रावलले बताए ।

एमालेले समर्थन फिर्ता लिएसँगै सोडारी नेतृत्वको सरकार दुई महिना नपुग्दै अल्पमतमा परेको छ ।

सोडारी गत वैशाख ६ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । एकीकृत समाजवादी संसदीय दलका नेता उनलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

सोडारीलाई २०८० फागुन २१ गते बनेको सङ्घीय सरकारको समीकरणमा भएका एमालेका १०, नेकपा (माओवादी केन्द्र)का १०, नेकपा (एकीकृत समाजवादी) चार, नागरिक उन्मुक्तिका सातमध्ये दुई र स्वतन्त्र एकसहित २७ जनाको समर्थन थियो । तर एमालेका १० जना सांसदको समर्थन फिर्ता भएपछि सोडारीको सत्ता ढल्ने निश्चित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *