सशस्त्र प्रहरीमा गोताखोरको संख्या ११० पुग्यो 

सशस्त्र प्रहरी बल, नेपालमा गोताखोरको संख्या १ सय १० पुगेको छ । सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारमा सञ्चालित सिसं ५ गोताखोर तालिम बिहीबार १९ जनाले सफलतापूर्वक सम्पन्न गरेपश्चात् संख्या थपिएको हो ।
उक्त तालिमको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले समापन गरेका थिए । साथै तालिममा प्रथम भएका प्रशिक्षार्थी सशस्त्र प्रहरी जवान वीरेन्द्र कार्कीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
उनले मनसुनजन्य विपद् सुरू भइसकेको अवस्थालाई ध्यानमा राखी सशस्त्र प्रहरी कर्मचारीहरूले तालिममा सिकेको ज्ञान, कला र कौशललाई प्रयोग गरी कार्यक्षेत्रमा परिस्थितिअनुरूप परिचालित हुनुपर्ने बताए । आफ्नो जीवनको पर्वाह नगरी आपतविपतमा परेका नागरिकहरूको जीउधनको सुरक्षा गर्नु उदाहरणीय कार्य रहेको उनले बताए ।
मन्त्री श्रेष्ठले गोताखोर तालिम व्यक्तिगत वृत्तिविकासका लागि नभई आम नागरिकको जीउधनको सुरक्षा कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नका लागि भएको बताए । यस्ता किसिमका तालिम सञ्चालनका लागि बागमतीले प्रदेश सदैव सकारात्मक र सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले संगठनलाई प्राप्त जिम्मेवारीहरूमध्ये विपद् व्यवस्थापन पनि महत्त्वपूर्ण रहेको बताए । यस तालिम शिक्षालयले विपद् व्यवस्थापनसम्बन्धी दक्ष जनशक्ति उत्पादन गरी देशका विभिन्न भूभागहरूमा घटेका विपद्का घटनाहरूमा सक्रिय भई खोज तथा उद्वार कार्य गरिरहेको उनले बताए ।
उनले विपद् उद्धार अत्यन्तै संवेदनशील, जोखिमयुक्त र कठिन कार्य रहेको बताउँदै यस्ता कार्यमा खटिँदा सशस्त्र प्रहरी बल, नेपालका उद्धारकहरू सदैव शारीरिक र मानसिक रूपमा दक्ष हुन जरूरी रहेको बताए ।
अतिरिक्त महानिरीक्षक दाहालले नेपाल सरकार तथा प्रदेश सरकारको सहयोगमा २०७६ सालदेखि नै सशस्त्र प्रहरी बल, नेपालले देशभित्रै गोताखोर तालिमप्राप्त दक्ष जनशक्ति उत्पादन गरी विपद्मा परेका नागरिकहरूको सहयोग तथा उद्धारका लागि देशैभर परिचालन गर्दै आइरहेको बताए ।
कार्यक्रममा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरीले धन्यवाद ज्ञापन गरेका थिए भने सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद पौडेलले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए ।
पाँच हप्ता अवधिको उक्त तालिममा १९ जना सशस्त्र प्रहरी कर्मचारीहरू सहभागी रहेका थिए । प्रशिक्षार्थीहरूलाई चितवनको कुरिनटारस्थित त्रिशूली नदी, कास्कीको पोखरास्थित फेवाताल र सुनसरीस्थित कोशी नदीमा तालिमको अभ्यास गराइएको थियो । कार्यक्रममा प्रशिक्षार्थीहरूले पानीजन्य घटना-दुर्घटनामा उद्धारसम्बन्धी डेमोसमेत प्रदर्शन गरेका थिए ।
कार्यक्रममा बागमती प्रदेशका सांसद कृष्णप्रसाद सिलवाल, विभिन्न नगरपालिका तथा गाउँपालिकाका प्रमुख-उपप्रमुखहरू, प्रदेश तथा जिल्लास्थित सुरक्षा समितिका पदाधिकारीहरू, विभिन्न संघसंस्थाका पदाधिकारीहरूलगायत सशस्त्र प्रहरी बल, नेपालका अधिकृत तथा बिल्लादार जवानहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *