नक्कली प्रमाणपत्रधारी प्रहरी इन्स्पेक्टरविरूद्ध भ्रष्टाचार मुद्दा

नेपाल प्रहरीका एक जना निरीक्षक (इन्स्पेक्टर) को शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोपमा विशेष अदालतमा भ्रष्टचार मुद्दा दर्ता भएको छ ।

नेपाल प्रहरी सशस्त्र प्रहरी गण नं. १, गुल्म नं. ४, नक्सालमा कार्यरत तत्कालीन प्रहरी निरीक्षक लोकबहादुर विष्टविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार मुद्दा दायर गरेको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत कर्मचारीहरूले सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको भन्दै छानबिनको माग राखी अख्तियारमा उजुरी परेको थियो ।

यस सम्बन्धमा अनुसन्धान गर्दा प्रहरी निरीक्षक विष्टले प्रहरी सेवा प्रवेश गर्दा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको खुलेको अख्तियारले जनाएको छ ।

विष्ट २०५५ कात्तिक १ गते प्रहरी सहायक निरीक्षक (असई) पदबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।

नियुक्तिको समय उनले भारतको उत्तर प्रदेशस्थित माध्यमिक शिक्षा परिषद, बोर्ड अफ हाइस्कुल एण्ड इण्टरमिडिएट एजुकेशनबाट जारी भएको हाइस्कुल परीक्षाको झुटा तथा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको खुलेको हो । सोही प्रमाणपत्रका आधारमा उनले प्रहरी निरीक्षकसम्मको जागिर खाएको अख्तियारको निष्कर्ष छ ।

अख्तियारले उनीविरूद्ध साविक तथा प्रचलित भ्रष्टाचार निवारण ऐनअनुसार कैद र जरिवाना सजायको मागदाबीसहित मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *