मनसुन भित्रिएको २५ दिनमा ४७ जनाको मृत्यु, ८ करोड बढीको क्षति

आगामी आइतबारसम्म भारी वर्षा हुने, सतर्कता अपनाउन विज्ञको सुझाव

नेपालमा गत जेठ २८ गतेदेखि यो वर्षको मनसुन भित्रिएको थियो । नेपालको पूर्वी क्षेत्र हुँदै अहिले मनसुन देशभर सक्रिय छ । साथै आगामी आइतबारसम्म अत्यधिक वर्षा हुने भएकाले सावधानी अपनाउन विज्ञहरूले आग्रह गरेका छन् ।

आगामी दिनमा सीमित क्षेत्रमा मात्रै वर्षा हुने भएकाले जलवायु तथा मौसम विज्ञान विभागले बढी वर्षा हुने भनेर जोखिम किटान गरेका ठाउँमा विशेष सतर्कता अपनाउनुपर्ने जलवायुविज्ञ डा. धर्म उप्रेतीले बताए । उनले साउन, भदौ र असोजमा भारी वर्षा हुने हुँदा त्यसले निम्त्याउन सक्ने जोखिम न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारले समयमा नै ध्यान दिनुपर्ने बताए ।

विज्ञ उप्रेतीका अनुसार नेपालमा मनसुन भित्रिएको २५ दिनमा ४७ जनाले ज्यान गुमाएका छन् भने ८ करोड २० लाख रूपैयाँभन्दा बढीको हानिनोक्सानी भएको छ । त्यस्तै भारी वर्षा सुरू हुनुभन्दा अगावै भएको यो क्षतिलाई हेर्दा पनि आागमी तीन महिनाभित्र नेपालमा विपद्बाट ठूलो नोक्सानी हुने देखिएको उनले बताए ।

उनले मनसुन भित्रिएको २५ दिनमा ४६ वटा भौतिक संरचनाहरू बाढी र पहिरोका कारण ध्वस्त भएको बताए । यस समयमा २५९ वटा पशुचौपाया मरेका छन् भने ४ सयवटा जलवायुजन्य घटनाहरू (बाढी, पहिरो, डुबान, चट्याङ) भएका छन् ।

विज्ञ उप्रेतीले असारमा औसतभन्दा कम पानी पर्दाको क्षति ठूलो भइसकेको भन्दै आगामी तीन महिनामा व्यहोर्नुपर्ने क्षतिको भार नेपालले व्यहोर्न नसक्ने बताए । उनले समयमा नै सरकारले विशेष ध्यान दिन र सतर्कता अपनाउन नसके विपद्बाट ठूलो क्षति हुने निश्चित रहेको बताए । नदी किनारमा भएका बस्तीहरू, भौतिक संरचना, विद्युतीय संरचना, विद्यालय, खानेपानी, कृषि सबैमा विपद्को प्रभाव बढेको बताए ।

उनले मनसुनको न्यूनचापीय रेखा नेपालमा रहेकाले यस समय भारी वर्षा हुने बताए । उनले विपद्पूर्व नै विपद्बाट हुन सक्ने सम्भावित क्षतिको पहिचान गरी त्यहाँका स्थानीयहरूलाई सचेत गराउन आवश्यक रहेको बताए ।

हेर्नुहाेस् भिडियाे

विज्ञ उप्रेतीले मनसुनको न्युनचापीय रेखा नेपालको नजिक रहेको र यस समय बढी वर्षा हुने भन्दै आईतवारसम्म सावधानी अपाउन आग्रह गरे । उनले पोखरा, काठमाडौं, सुदूरपश्चिममा दीपायल, कोशी प्रदेशका केही भूभागमा अत्यधिक वर्षा हुने बताए । उनले भूबनावटले थेग्नेभन्दा बढी वर्षा भएको खण्डमा पहिरो जाने उच्च सम्भावना रहेको बताए ।

विज्ञ उप्रेतीले पछिल्ला केही दिनयता पार्नी पर्ने तरिकामा पनि परिवर्तन भइरहेको उनले बताए । उनले एकैठाउँमा मुसलधारे पानी पर्ने र त्यसको असर समुदायमा पर्ने गरेको बताए । उनले एकैठाउँमा धेरै वर्षा हुँदा मानिसहरू डराउने गरेको उल्लेख गरे । आगामी दिनमा पनि सीमित क्षेत्रमा ठूलो र लामो समय पानी पर्ने भएकाले सतर्क रहन उनको आग्रह छ ।

तराई र शहरी क्षेत्रमा बाढी आउने मात्र नभई डुबान हुने सम्भावना रहेको उनले बताए । क्षेत्र निर्धारण गरी सोहीअनुसारको पूर्वसूचना प्रणाली बनाउन सके मानिसहरू सचेत हुने र विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सकिने बताए ।

निर्माण क्षेत्रले आगामी दिनमा जलवायुमैत्री भौतिक संरचना निर्माण नगर्ने हो भने विपद्को क्षति झनै धेरै बढ्ने विज्ञ उप्रेतीले बताए । उनले नदी किनारमा बनाइएका संरचनाहरूजस्तै ऊर्जाको भौतिक संरचना, खानेपानीको भौतिक संरचनाहरू बनाउँदा दीर्घकालीन रूपमा सोचेर बनाउनुपर्ने बताए ।

उनले भौतिक संरचनामा प्रयोग गरिने सिमेन्ट, रडहरू बाढीको जोखिम कम हुने क्षेत्रमा राख्नुपर्ने सुझाव दिए । उनले बाढी, पहिरोको जोखिम भएका ठाउँमा तत्काललाई काम रोक्नुपर्ने बताए ।

उनले नेपाल र छिमेकी देश भारतले सीमानाकामा बनाउने संरचना जलवायुमैत्री बनाउन आवश्यक रहेको विज्ञ उप्रेतीले बताए । उनले बाढीको पूर्वसूचनालाई प्रभावकारी बनाउन र स्थानीय, प्रदेश र राष्ट्रिय आपतकालीन केन्द्रलाई प्रभावकारी बनाई कार्यान्वयन गर्न आवश्यक रहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *