एआईजीमा बढुवा सिफारिस पोखरेलले डीआईजीमै अवकाश पाउने सम्भावना

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को पद खाली नहुँदै बढुवा सिफारिस भएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोषराज पोखरेल डीआईजीले पदमै अवकाश पाउने सम्भावना देखिएको छ ।

केही दिनयता सरकारको गठबन्धन फेरिँदा र नयाँ सरकार बन्ने प्रक्रिया सुरु हुँदा पोखरेलको बढुवा सिफारिस अलपत्र पर्ने देखिएको हो । २ दिनका लागि मात्र एआईजी बन्ने गरी बढुवा सिफारिस भएका पोखरेलको आज जागिरे जीवनको अन्तिम दिन हो ।

यदि, आज सरकारको मन्त्रिपरिषद्को बैठक बसेर उनको बढुवा नगरिए राति १२ बजेपछि उनले अवकाश पाउनेछन् ।

यही असार १० मा पोखरेललाई दुई दिनका लागि अतिरिक्त महानिरीक्षक (एआईजी) बनाउने प्रस्ताव गरिएको थियो । गृह मन्त्रालयका सचिव एकनारायण अर्याल संयोजक रहेको बढुवा सिफारिस समितिले पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो ।

यही असार १८ मा ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश पाएका एआईजी उमेशराज जोशीको स्थानमा उनलाई बढुवा सिफारिस गएको थियो ।

तर पोखरेल पनि आज मध्यराति पछि अवकाशमा जान लागेका छन् । उनी एआईजी भएको भए पनि २ दिनका लागि मात्र हुन्थे । पोखरेल पनि ५६ वर्षे उमेर हदका कारण अवकाशमा जान लागेका हुन् ।

पोखरेल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा दरबन्दी रही काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत छन् ।

प्रहरी नियमावली २०७१ को दफा १२७ अनुसार एआईजी र डीआईजी ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जानेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *