बाँकेमा फरार प्रतिवादी समात्न खोज्दा प्रहरी र स्थानीयबीच झडपपछि गोली चल्यो

बाँकेको डुडुवा गाउँपालिका-६ स्थित सिखनपुरवामा फरार प्रतिवादी पक्राउ गर्न खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको छ ।

स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि प्रहरीले आत्मरक्षाका लागि एक राउण्ड हवाई फायर र दुई राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए । ‘झडप भएपछि प्रहरीले बाध्य भएर गोली प्रहार गरेको थियो,’ उनले भने ।

प्रहरी उपरीक्षक कार्कीका अनुसार झडपमा एक स्थानीय महिला र वरिष्ठ प्रहरी हवल्दार मदन डाँगी घाइते भएका छन् । प्रहरी हवल्दार डाँगीलाई स्थानीयले प्रहार गरेको इँट्टाले टाउकोमा चोट लागेको छ । घाइते दुवैको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको उनले जानकारी दिए ।

‘डुडुवा गाउँपालिका-६ का ६५ वर्षीय सोन्नामसिंह सर्दार छ वर्षदेखि डाँका मुद्दामा फरार प्रतिवादी हुन् । उनी भागेपछि खुट्टामा गोली प्रहार गरेर नियन्त्रणमा लिएका हौँ,’ प्रहरी उपरीक्षक कार्कीले भने, ‘निजलाई सुरूमा प्रहरीले पक्राउ गरेको थियो । स्थानीयले निजलाई भाग्न सहयोग गरेपछि पुनः पक्राउ गर्न खुट्टामा गोली प्रहार गरिएको हो ।’

उनका अनुसार फरार प्रतिवादी सर्दारलाई पक्राउ गर्न खोज्दा करिब एक घण्टा स्थिति तनावग्रस्त बनेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *