ट्राफिक प्रहरीको इतिहास र वर्तमान समेटिएको ‘ट्राफिक पुलिस मिरर’ विमोचन

ट्राफिक प्रहरीले पहिलो पटक प्रकाशन गरेको ‘ट्राफिक पुलिस मिरर, २०२४’ विमोचन भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले यसको विमोचन गरेका हुन् ।

प्रहरी महानिरीक्षक कुँवरले ट्राफिक प्रहरीको इतिहास र विकासक्रमका साथै सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा गरिएका प्रयासहरूलाई समेटेर तयार पारिएको ‘ट्राफिक पुलिस मिरर’ को प्रथम संस्करणको प्रकाशन कार्य प्रशंसनीय रहेको बताए ।

कार्यक्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त अवकाशप्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक केशव बरालले विगतमा ट्राफिक प्रहरीले गरेका कामहरू देखाउने ऐनाका रूपमा मिरर प्रकाशन भएको र यो मिररले ट्राफिक व्यवस्थापनको विगत र वर्तमानलाई स्पष्ट पार्नेमा विश्वस्त रहेको बताए ।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले ‘ट्राफिक पुलिस मिरर’ ले विगतलाई स्मरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

त्यस्तै काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले ट्राफिक प्रहरीको इतिहासदेखि वर्तमान गतिविधि मिररमा प्रस्ट पारिएको उल्लेख गरे । उनले ट्राफिक प्रहरीको ऐतिहासिक विकासक्रम, ज्ञान, सीप तथा ट्राफिक प्रहरीका क्रियाकलापलाई लोप हुन नदिन मिरर प्रकाशन गरिएको बताए ।

प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले पहिलो पटक लिखित दस्तावेजका रूपमा प्रकाशन भएको ‘ट्राफिक पुलिस मिरर’ ले २००७ सालदेखि हालसम्म ट्राफिक प्रहरीले गर्दै आएका कार्यलाई छर्लंग पारेको बताए ।

कार्यक्रममा ‘ट्राफिक पुलिस मिरर’ प्रकाशन गर्न सहकार्य गर्ने भाटभटेनी सुपरमार्केट, नाडा, बीवाईडी मोटर्स, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, स्याकर ट्रेडिङ, सिप्रदी ट्रेडिङलगायतका संघसंस्थाहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

रामशाहपथमा सम्पन्न कार्यक्रममा अवकाशप्राप्त प्रहरी अधिकृत, यातायात व्यवस्थापनसँग सरोकार राख्ने सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरू, यातायात व्यवसायी, यातायात मजदुर, प्रहरी वरिष्ठ अधिकृत तथा जुनियर अधिकृतहरू, सकल दर्जाका प्रहरी कर्मचारीहरूका साथै विभिन्न संघसस्थाका प्रतिनिधिहरू र संचारकर्मीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *