सरकारले बाढी, पहिरो र डुबानपीडितलाई तत्काल राहतको व्यवस्था गरोस् : सांसदहरू

राष्ट्रियसभाका सांसदहरूले बाढी, पहिरो र डुबानपीडितलाई तत्काल राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । बिहीबार बसेको राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै सांसदहरूले किसानलाई मलको उचित व्यवस्था मिलाउनका लागि वितरण प्रणाली पुनरवलोकन गर्न पनि सरकारलाई सचेत गराए ।

सांसद शारदादेवी भट्टले बाढी, पहिरो र डुबानपीडितलाई तत्काल राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरिन् । उनले वर्षातले धेरै नागरिक पीडित भएको भन्दै उनीहरूको राहतका लागि के काम भइरहेको छ भनी सरकारलाई प्रश्न गरिन् ।

त्यसैगरी सांसदहरूले वर्षाका कारण भूकम्पपीडितहरूले झनै पीडा व्यहोर्नुपरेको उल्लेख गर्दै उनीहरूको समस्या समाधानमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद सुमित्रा बीसीले जाजरकोटमा पहिरोका कारण ५ वर्षीय बालकको ज्यान गएको उल्लेख गर्दै पीडितलाई उचित राहतको व्यवस्था गर्न सरकारले ढिलाइ गर्न नहुने बताइन् ।

सांसद मृगेन्द्रकुमार सिंह यादवले किसानलाई मलको अभाव नहुने गरी आवश्यक व्यवस्था मिलाउनका लागि त्यसको वितरण प्रणालीमा पुनरवलोकन गर्न सरकारलाई आग्रह गरे । उनले किसानहरूले सुलभ र सहज रूपमा मल पाउने व्यवस्था मिलाउन पनि सरकारसँग माग गरे ।

सांसद तुलसाकुमारी दाहालले सार्वजनिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि जोड दिन सरकारको ध्यानाकर्षण गराइन् । उनले सरकारले सार्वजनिक विद्यालयको शिक्षामा सुधार नगरेसम्म मुलुकको शैक्षिक क्षेत्रले प्रगति गर्न नसक्ने पनि उल्लेख गरिन् ।

सांसद दाहालले एसईई परीक्षामा धेरै विद्यार्थी अनुत्तीर्ण भएकाले त्यस्तो अवस्था आउन नदिन पनि सरकार चनाखो हुनुपर्ने बताइन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *