राजनीतिक अस्थिरताले मन्त्रालयको काम चुस्त ढंगले गर्न सकिएन : मन्त्री जोशी

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले राजनीतिक अस्थिरताका कारण आफूले मन्त्रालयको सबै काम चुस्त ढंगले गर्न नसकेको बताएका छन् ।

कांग्रेस-एमालेबीच नयाँ सत्ता समीकरणका लागि समझदारीको सहमतिपछि उत्पन्न राजनीतिक अस्थिरताले मन्त्रालयको काम व्यवस्थित ढंगले गर्न व्यवधान खडा गरेको बताए ।

बिहीबार राष्ट्रियसभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले आफूले निजामती सेवा ऐनसम्बन्धी विधेयकलाई छिटो पारित गर्न संसदीय समिति र राजनीतिक दलहरूसँग प्रयास गरेको पनि बताए । मन्त्री जोशीले कर्मचारीहरूको सरूवा छिटोछिटो हुने अवस्था अन्त्य गर्न पनि आफूले सक्दो पहल गरेको बताए ।

‘राजनीतिक अस्थिरताले होला हामीले पनि राम्रोसँग काम गर्न नसकेको कुरा पनि राख्न चाहन्छु । हामीले मन्त्रालयमा गएपछि सबै काम चुस्तदुरूस्त ढंगले गरेका छौं भन्ने अवस्था पनि छैन । किनभने यो अस्थिरताले यस्तो समस्या सिर्जना गर्दो रहेछ,’ मन्त्री जोशीले भने ।

मन्त्री जोशीले संघीय निजामती सेवा ऐनको अभावमा प्रदेश र स्थानीय तहमा कर्मचारीको उचित व्यवस्था हुन नसकेको पनि बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *