सामाजिक सुरक्षा कोषमा जम्मा भयो साढे ५७ अर्ब बढी रकम

सामाजिक सुरक्षा कोषमा सूचीकृत योगदानकर्ताको साढे ५७ अर्ब रूपैयाँभन्दा बढी संकलन भएको छ । १४ लाख ५६ हजार योगदानकर्ताको सो रकम संकलन भएको हो ।

२०७५ मंसिर ११ गतेदेखि कार्यान्वयनमा आएको सामाजिक सुरक्षा कोषले २०७६ साउन १ गतेदेखि योगदान रकम संकलन गर्न थालेको थियो । करिब चार वर्षको समयमा कोषमा योगदान रकमको रूपमा साढे ५७ अर्ब रूपैयाँभन्दा बढी संकलन भएको हो ।

वैदेशिक रोजगारीमा रहेका, स्वदेशभित्र काम गरिरहेकाहरूले कोषमा योगदान रकम संकलन गर्ने क्रम बढेसँगै योगदान रकम र योगदानकर्ताको संख्यामा वृद्धि भएको कोषले जनाएको छ ।

कोषमा सूचीकृत योगदानकर्ताको संख्या बढ्दै गएपछि योगदान रकम पनि बढेको हो । सूचीकृत हुने योगदानकर्ताको संख्यामा वृद्धि भएसँगै योगदान रकम ५७ अर्ब ५५ करोड ८१ लाख रूपैयाँ पुगेको सामाजिक सुरक्षा कोषले बताएको छ ।

जेठ महिनामा मात्रै दुई अर्ब ५२ करोड ८१ लाख रूपैयाँ संकलन भएको कोषले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । वैशाखसम्म योेगदान रकमबापत ५५ अर्ब तीन करोड रूपैयाँ संकलन भएको थियो ।

चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्म योगदानबापत ४२ अर्ब ८५ करोड ५७ लाख रूपैयाँ संकलन भएको थियो । आर्थिक वर्षको ११ महिनामा १५ अर्ब रूपैयाँभन्दा बढी रकम संकलन भएको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजनाअनुसार मासिक पारिश्रमिक भुक्तानी गर्दा आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकममध्ये रोजगारदाताको तर्फबाट २० प्रतिशत र श्रमिकको तर्फबाट ११ प्रतिशत योगदान गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *