श्रीलंकामा बन्डमा फसेको १ अर्ब फिर्ता आउने भएपछि माछापुच्छ्रे र सानिमा बैंकलाई राहत

श्रीलंका आर्थिक संकटमा फसेपछि यसको असर अन्य देशहरुमा परेको थियो । श्रीलंका सरकार टाट पल्टेको असर नेपालका बैंकलाई समेत परेको थियो ।

नेपालका दुइटा वाणिज्य बैंक माछापुच्छ्रे र सानिमा बैंकले श्रीलंकाका बन्ड अन्तर्राष्ट्रिय बजारमा किनेका थिए । माछापुच्छ्रे बैंकले ५० लाख अमेरिकी डलर र सानिमाले ५० लाख अमेरिकी डलरको बन्ड किनेका थिए । आजको अमेरिकी डलरसँगको विनिमय दरअनुसार १ करोड अमेरिकी डलरको १ अर्ब ३३ करोड रुपैयाँ हुन्छ ।

राम्रो ब्याज पाउने आशामा नेपाली बैंकहरुले श्रीलंकाको बन्डमा लगानी गरेका  थिए । वित्तीय अवस्था कमजोर भएपछि श्रीलंका सरकारले २ वर्ष अगाडि विदेशी  लगानीकर्ताको ब्याज र सावा तिर्न नसकेर टाट पल्टेको थियो । तर, अहिले श्रीलंकाको आर्थिक अवस्थामा विस्तारै सुधार आइरहेको छ । जसले गर्दा  श्रीलंकाले विदेशी लगानीकर्तासँग लिएको ऋणको सावा तथा ब्याज भुक्तानीलाई
क्रमअनुसार तिर्न लागेको हो ।

नेपाली बैंकहरुले श्रीलंकामा गरेको लगानी डुबेपछि यसको ५० प्रतिशत रकम प्रोभिजन गरेका थिए । तत्कालीन विनिमय दरअनुसार ३० करोड जति रकम बैंकहरुले प्रोभिजन गरेका थिए । श्रीलंकाबाट पैसा फिर्ता आएपछि सो रकम  बराबरको नाफा बढाउन मद्दत गर्छ । अहिले बैंकहरुको ऋण नउठेको बेला ३० करोड रुपैयाँले पनि केही सकारात्मक प्रभाव दुइटा बैंकको ब्यालेन्ससिटमा
पर्ने छ ।

श्रीलंकाको बन्डमा लगानी गरेका माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले श्रीलंकामा फसेको पैसा आउने अन्तिम चरणमा रहेको जानकारी दिए । ‘नेगोसियसन चलिरहेको छ, केही साताभित्रमा यो रकम आउने देखिएको छ,’ कोइरालाले भने । नेपाली बैंकहरुले अन्तर्राष्ट्रिय बजारमा सूचीकृत भएको श्रीलंकन बन्ड खरिद गरेको थिए ।

ब्याज बढी आउने र आम्दानी हुने आशामा भएको लगानी डुब्ने नै  हो कि भन्ने जोखिम बैंकहरुलाई थियो । तर, श्रीलंकाको आर्थिक अवस्था सुधार  आउन थालेपछि लगानी नडुब्ने भएको हो ।

बैंकहरुले राष्ट्र बैंकले तोकेको सीमामा विदेशमा बन्डमा लगानी गर्न पाउने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *