रास्वपा महामन्त्री ढकाल निलम्बित, कार्यवाहक जिम्मेवारी बुर्लाकोटीलाई

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकाललाई पदबाट निलम्बन गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेकाले केन्द्रीय अनुशासन आयोगसँग परामर्श गरेर सात दिनका लागि निलम्बन गरिएको सहप्रवक्ता मनीष झाले बताए ।

महामन्त्री ढकालमाथि लिनुपर्ने कारबाही तथा असहज परिस्थितिको निराकरणका लागि आकस्मिक रूपमा अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटालाई आमन्त्रण गरेर परामर्श गरिएको थियो ।

महामन्त्री ढकालले पार्टी अनुशासनविपरीत अमर्यादित र अभद्र व्यवहार प्रदर्शन गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिँदै हिँडेकाले राजनीतिक दलसम्बन्धी ऐनको दफा १८, रास्वपा विधानको धारा ५५.७ (क) र (ख)  तथा धारा ५६(१) तथा केन्द्रीय अनुशासन आयोगको नियमावली नियम ५.२ र परिच्छेद ७ को नियम १४ बमोजिम एवं केन्द्रीय अनुशासन आयोगको तत्काल गरेको सिफारिसबमोजिम महामन्त्री तथा प्रवक्ता पदबाट सात दिनका लागि निलम्बन गर्ने सर्वसम्मत निर्णय भएको सहप्रवक्ता झाले बताए ।

साथै ढकालले गरेको पार्टी अनुशासनविपरीतको गतिविधिका सम्बन्धमा प्रतिवेदन तथा यथोचित कारबाहीको सम्बन्धमा केन्द्रीय समितिमा पेस गर्ने निर्देशन केन्द्रीय अनुशासन आयोगलाई दिएको छ ।

केन्द्रीय समितिले सभापतिको प्रस्तावमा सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र सहप्रवक्ता झालाई कार्यवाहक प्रवक्ता तोकेको छ ।

निलम्बनको निर्णयपछि महामन्त्री ढकालले आफूलाई स्पष्टीकरणको मौका नदिई कारबाही गरेको गुनासो गरेका छन् । ‘राजनीतिक दलसम्बन्धी ऐन र प्रचलित लोकतान्त्रिक अभ्यासअनुरूप कसैलाई पनि कारबाही गर्नुअघि स्पष्टीकरणको मौका दिनुपर्छ । स्पष्टीकरणको मौका पनि नदिई कारबाही गरियो,’ उनले भनेका छन् ।

त्यसअघि महामन्त्री डा. ढकालको समीक्षा प्रतिवेदन पार्टीको केन्द्रीय समिति बैठकमा पेस भएको थियो । पार्टीको नीति, नेतृत्व र कार्यशैलीको कडा आलोचना गरिएको प्रतिवेदन सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले वाचन गरेर बुधबारको केन्द्रीय समितिमा पेस गरेका थिए । प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्दै महामन्त्री ढकालको कार्यसम्पादन र कार्यशैलीको कडा आलोचना गरेका थिए । उनीमाथि कारबाहीको मागसमेत उठेको थियो ।

इलाम २ को उपनिर्वाचनको निराशाजनक परिणामपछि पार्टी केन्द्रीय सचिवालयको निर्णयअनुसार ६ जेठमा समीक्षा यात्रामा निस्किएका महामन्त्री ढकालले देशभरका कार्यकर्ता तथा शुभेच्छुकको वस्तुगत सुझावका आधारमा प्रतिवेदन तयार पारेर १२ असारमा सभापति रवि लामिछानेलाई बुझाएका थिए । प्रतिवेदन बुझाउनुअगावै केही अंश सञ्चारमाध्यममा सार्वजनिक गर्दै प्रतिवेदन हुबहु सार्वजनिक गरेर आफूलाई न्याय दिन सभापति लामिछानेलाई अनुरोध गरेका थिए । प्रतिवेदन सार्वजनिक गर्नकै लागि महामन्त्री ढकालले बुधबारदेखि बसेको केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गर्न सभापतिसँग माग गरेका थिए । यहीबीचमा रास्वपाको केन्द्रीय अनुशासन आयोगले प्रतिवेदनका अंश पहिले नै सार्वजनिक गरेको भन्दै १४ असारमा उनलाई स्पष्टीकरण पनि सोधेको थियो ।

प्रतिवेदनमा स्वतन्त्र पार्टीको मर्म हराएको, अन्य पार्टीभन्दा फरक हुन नसकेको, पुराना शक्तिसँगै सम्झौता गरेर अगाडि बढेको, सांसददेखि मन्त्रीसम्मको भूमिका कमजोर भएको भनेर समीक्षा गरिएको छ । प्रतिवेदनमा प्रदेश संरचना खारेजी, बलियो स्थानीय सरकार, प्रत्यक्ष निर्वाचित कार्यकारीदेखि प्रशासन सुधार र पार्टीले संशोधन गर्नुपर्ने एजेन्डाबारे पनि आंँल्याइएको छ । पार्टीको जनमत खस्किँदै गएको र निर्मम कदम नचाले ०८४ मा राष्ट्रिय पार्टी बन्न हम्मे पर्ने र विवेकशील पार्टीजस्तै हालत बन्ने पनि उल्लेख छ । प्रतिवेदनमा पुराना दलभन्दा स्वतन्त्रहरूसँग सहकार्यको हात बढाउनु रास्वपाको हितमा भनिएको छ ।

बैठक लाइभको प्रस्ताव अस्वीकृत
बुधबार बिहान केन्द्रीय कार्यालय वनस्थलीमा प्रारम्भ भएको केन्द्रीय समिति बैठकले महामन्त्री ढकालले राखेको बैठक लाइभ गर्ने प्रस्ताव अस्वीकृत गरेको छ । सहप्रवक्ता मनीष झाका अनुसार बैठकको प्रारम्भमा सभापति लामिछानेले महामन्त्रीको मागअनुसार लाइभ गर्ने कि नगर्ने भन्नेबारे केन्द्रीय सदस्यहरूको धारणा लिएका थिए । प्रायः सबैले पार्टीको बैठक सञ्चालन कार्यविधिविपरीत आन्तरिक छलफलको विषय, पार्टी रणनीति र कूटनीतिक पनि हुने भएकाले सार्वजनिक गर्न नहुने भन्दै लाइभ गर्न नहुनेमा जोड दिए । केन्द्रीय सदस्यहरूको मतपछि लामिछानेले लाइभ गर्ने महामन्त्रीको प्रस्ताव निर्णयार्थ पेस गरे । सभापति र महामन्त्रीलाई सहभागी नगराइएको प्रक्रियामा शतप्रतिशत सदस्यले लाइभ गर्न नहुनेमा अभिमत दिए । त्यसपछि सभापति लामिछानेले बैठकको लाइभ नहुने निर्णय सुनाएका थिए ।

सभापतिले सुनाएको निर्णयमा महामन्त्री ढकालले असहमति जनाएका थिए । ‘त्यसपछि महामन्त्रीले लाइभ गरिँदैन भने यो मेरो अभिव्यक्ति स्वतन्त्रताको हनन हो, त्यसैले गर्दा म मुखमा कालो टेप लगाएर बस्छु भन्नुभयो । विरोधस्वरूप उहाँले मास्कमाथि टेप लगाएर बस्नुभयो,’ सहप्रवक्ता झाले भने ।

महामन्त्रीले विद्रोही शैली अपनाएपछि केन्द्रीय सदस्यहरूले आपत्ति जनाए । ढकालको निर्णय र गतिविधि बैठक सञ्चालनको विधि, प्रक्रिया र कार्यविधि एवं पार्टी अनुशासन र हितविपरीत रहेको भन्दै सदस्यहरूले आपत्ति जनाएपछि सभापति लामिछानेले १५ मिनेटका लागि बैठक नै स्थगित गरे ।

महामन्त्री ढकालले गरेका गतिविधिलाई अनुशासनको विषय बनाउने र आयोगले थप हेर्ने सहमतिपछि सभापति लामिछानेले बैठक अगाडि बढाएका थिए । ढकालले गरेको गतिविधि र दिएको अभिव्यक्तिले आन्तरिक लोकतन्त्रबारे पार्टीपंक्ति र सर्वसाधारणमा भ्रम सिर्जना हुने भएपछि बैठकको सुरुवातदेखि अन्त्यसम्मका प्रक्रिया सार्वजनिक गर्ने सहमति पनि भएको सचिवालयले जनाएको छ । त्यसपछि सभापति लामिछानेले महामन्त्री ढकाललाई समीक्षा यात्राको प्रतिवेदन प्रस्तुत गर्न समय दिएका थिए । तर, ढकालले प्रस्तुत नगर्ने भनेपछि सहमहामन्त्री बुर्लाकोटीलाई प्रतिवेदन पेस गर्न लगाइएको थियो ।

महामन्त्री ढकालले पनि बैठक लाइभ नगर्ने निर्णयबाट आफ्नो लोकतान्त्रिक अधिकार, बोल्न पाउने अधिकार हनन भएकाले पार्टी बैठकमा मुखमा कालो टेप लगाएर उपस्थिति जनाएको स्पष्ट पारेका छन् । सहप्रवक्ता झाले सभापतिले नै प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाइसकेको भन्दै केन्द्रीय सदस्यहरूबाट प्रतिक्रिया लिएपछि प्रतिवेदन हुबहु नै सार्वजनिक हुने दाबी गरे । पार्टीको महामन्त्री परिवर्तनको एजेन्डामा बैठक प्रवेश गरिनसकेको उनको भनाइ थियो ।

बोल्न नपाएको महामन्त्रीको गुनासो
रास्वपा महामन्त्री ढकालले आफूले केन्द्रीय समिति बैठकमा बोल्न नपाएको गुनासो गरेका छन् । बैठक लाइभ नगर्दा बोल्न पाउने अधिकार हनन भई मुखमा कालो टेप लगाएर विरोध जनाएका उनले प्रतिवेदनको सारांश प्रस्ताव राख्न खोज्दा बोल्न नदिएको गुनासो गरेका हुन् । ‘हिजोको पार्टी सचिवालय बैठकको निर्णयबमोजिम समीक्षा प्रतिवेदनका आधारमा प्रस्ताव तयार पारेको थिएँ । र, समीक्षा प्रतिवेदनपछिका सन्दर्भमा आफ्ना भनाइ राख्ने अनुमति दिने सचिवालयले निर्णय गरेको थियो,’ उनले भने, ‘तर, मलाई बोल्न दिइएन । लिखित रूपमा तयार पारिएको प्रस्ताव र भनाइ पनि सभापतिले राख्न अनुमति दिनुभएन ।’ ढकालका अनुसार प्रतिवेदनका आधारमा तयार गरिएको प्रस्तावमा पार्टीलाई रविको पार्टी नभएर राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनुपर्ने कुरा उल्लेख छ ।

प्रतिवेदनअनुसारको संक्षिप्त प्रस्ताव बैठकमा पेस गर्न नपाएपछि ढकालले आफैँ सार्वजनिक गरेका छन् । उनले आफूमाथि सोधिएको स्पष्टीकरण पत्रको वैधानिकतामाथि नै प्रश्न उठाएका छन् । त्यसैगरी समानुपातिक सांसद छनोटमा आफ्नो मान्छे पारेको भन्ने आरोपको जवाफ दिएका छन् । उनले पार्टी सच्चिनुपर्ने भन्दै सय दिनका लागि कार्ययोजना नै पेस गरेका छन् । अबको सय दिनमा रास्वपालाई रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउन पार्टीको विधान, संगठनात्मक ढाँचा, उम्मेदवार छनोट, महाधिवेशनको बाटो तय, नेताको कार्यसम्पादन मूल्यांकन, अनुशासन कायमलगायत विषय स्पष्ट पारेर निर्मम रूपमा अगाडि बढ्नुपर्ने उनको सुझाव छ ।

महामन्त्री अस्वाभाविक र अप्राकृतिक रूपमा प्रस्तुत हुनुभयो : डा. स्वर्णिम वाग्ले, उपसभापति, रास्वपा
बैठक लाइभ नगर्ने शतप्रतिशत केन्द्रीय सदस्यको निर्णयलाई उहाँले स्वाभाविक रूपमा लिनुभएन । बैठकमा उहाँ एकदमै असहज, अस्वाभाविक र अप्राकृतिक रूपमा पेस हुनुभयो । हामीले गर्ने स्नेह र सम्मानलाई उहाँले आज सामूहिक रूपमै लत्याउनुभयो । महामन्त्रीको व्यवहार र शैलीले प्रतिवेदनसमेत ओझेलमा पर्‍यो । प्रतिवेदनमा भएका केही राम्रा कुरा पनि गौण बन्न पुगे । महामन्त्रीजीको पार्टीमा यत्रो योगदान छ । हठात् एक दिनको असामान्य व्यवहारका कारण हटाउने भन्ने हुँदैन भनेर नेतृत्व संयमित ढंगले लागिरहेको छ । विशेषगरी सभापतिज्यूले अनुशासन आयोगको बाउन्ड्रीबाटै जानुपर्छ भन्नुभयो । अपरिपक्व निर्णय नहोस् भनेर उहाँ चिन्तित हुनुहुन्छ । नत्र केन्द्रीय सदस्यहरूको उहाँप्रति सामूहिक रोष थियो ।

मलाई केन्द्रीय समिति बैठकमा ह्यारेसमेन्ट गरियो : मुकुल ढकाल, महामन्त्री, रास्वपा
उहाँहरूले मलाई ह्यारेसमेन्ट गर्नुभयो । दुईजना उपसभापतिले आजबाट महामन्त्री मान्दैनौँ भन्नुभयो । मैले बोल्दिनँ भन्दा बोल कि बोल भनियो । एउटा राजनीतिक प्राणीका रूपमा मैले विरोध जनाएको हो । बोल कि बोल भन्न पाइँदैन । राजनीतिक तरिकाले बुझ्नुपर्छ । एउटा व्यक्ति जसले गलत कुराको विरोध गर्‍यो, त्यसलाई कारबाहीको प्रक्रिया अगाडि बढाइन्छ भने अब पार्टी प्रतिपक्ष बन्दै छ, कुन नैतिकताका आधारमा सरकारको विरोध गर्छ ? कुन नैतिकताका आधारमा प्रतिपक्षमा बस्छ ? मलाई पार्टीको चिन्ता छ । मलाई सबै दोष थोपर्न खोजिँदै छ । महामन्त्रीको सबै गल्ती देखाउनुहुन्छ । अध्यक्ष जुन पदमा हुनुहुन्छ, त्यो पदले कहिल्यै पनि गल्ती गर्दैन भनेजस्तो भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *