पर्सा ‘डबल मर्डर केश : प्रहरी अनुसन्धानमा खुले नयाँ तथ्य

बाराका दुई झाँक्री रामएकवाल र सुरेश ठाकुरको विभत्स हत्यामा संलग्न मुख्य योजनाकारसहित तीन जनालाई पर्सा प्रहरीले सार्वजनिक गरेको छ ।

हत्याका मुख्य योजनाकार पर्सा जगरनाथपुर गाउँपालिका ५ का ३२ वर्षीय सन्तोष प्रसाद कुम्हार, बारा कलैया उपमहानगरपालिका ५ का ३३ वर्षीय लक्ष्मणकुमार प्रजापति र पर्सा जगरनाथपुर गाउँपालिका ५ धर्मपुरका ४५ वर्षीय महादेव महतो नुनियालाई प्रहरीले सार्वजनिक गरेको हो ।

गएको जेठ २९ मा पर्सा जगरनाथपुर गाउँपालिका–१ बिसुनपूर्वा टोलस्थित ओरिया खोला किनारमा नेपाल तर्फको सिमानाको दशगजा भन्दा ८० मिटरभित्र खाली जग्गामा गाडिएको अवस्थामा दुई शव बरामद भएको थियो । वन्यजन्तुले शव खोस्रिरहेको सूचना आएपछि जिल्ला प्रहरी पर्साबाट विशेषज्ञ टोली खटिएको थियो । जिल्ला प्रहरी पर्साका अनुसार जेठ ३० मा पहिलो शव बारा कलैया उपमहानगरपालिका–६ का ६० वर्षीय रामएकवाल कुम्हालको र दोस्रो शव बाराकै आदर्शकोतवाल गाउँपालिका–७ निवासी ४० वर्षीय सुरेश ठाकुर लोहारको भेटिएको थियो ।
करिब तीन साताको अनुसन्धान पछि पर्सा प्रहरीले बुधबार कुम्हाल र ठाकुरको हत्या पारिवारिक रिसईबी र जग्गा जमिनको विवादका कारण गरिएको पाइएको प्रहरी प्रवक्ता डीएसपी दिपक भारतीले बताए ।

मूख्य योजनाकारले हत्या गर्ने पूर्व योजना बनाई कुम्हाल र ठाकुरलाई झारफुक एवम् धामीझाँक्रीको काम रहेको भन्ने विश्वासमा पारि बाराबाट घटनास्थलसम्म बोलाएको देखिएको भारतीले बताए । प्रहरीका अनुसार पारिवारिक रिसईबी तथा जग्गाजमिनको विवादका कारण योजनाबद्ध तरिकाले हत्या गरिएको खुलेको छ । यसका लागि निश्चित व्यक्तिलाई ८ लाख रकम (सुपारी) समेत दिइएको छ ।

गत जेठ २५ मा साँझ करिब ६ बजे कुम्हाल र ठाकुर बाराको कलैयाबाट बस चढेर पर्साको प्रतिमा चोकमा झरेका थिए । त्यहाँबाट पावरहाउस चोकमा आएर विन्दवासिनीको केहुनीया जाने गाडी चढेका थिए । अनुसन्धान अधिकृतका अनुसार विन्दवासिनी चोकबाट घटनामा संलग्न एक व्यक्तिले दुबैलाई मोटरसाइकलमा चढाएर बहुअर्वाभाठाको बाटो हुँदै हुलाकी सडकबाट लखनपुर पुर्याएका थिए । त्यहाँबाट नहरको बाटो हुँदै बिसुनपूर्वास्थित ओरिया खोला लगेका थिए । डीएसपी भारतीका अनुसार कुम्हाल र ठाकुरको साथमा रहेको गम्छाले घाटी थिची हत्या गरेका थिए । दुबै शवलाई घटना घटाएको स्थान नजिकै ओरिया खोला तटमा शव गाडेका थिए ।

हत्यामा संलग्न तीन जना पक्राउ गरी अदालतबाट ५ दिनको म्याद थप लिई अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *