आरजुलाई पक्राउ गर्न लागिएको समाचारको सीआईबीद्वारा खण्डन

भ्रम फैलाउने उद्देश्यले केही व्यक्ति पक्राउ गर्न लागिएको भनी समाचार प्रकाशित भएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ध्यानाकर्षण भएको जनाएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले आफ्नो कार्यालयबाट विभिन्न व्यक्तिहरुको नाम समेत तोकी पक्राउ गर्न प्रहरी खटिगएको भनी आएको समाचार सत्य नभएको जनाएका हुन् ।

पछिल्लो समय केही सञ्चारमाध्यममा भुटानी शरणार्थी प्रकरणमा सीआईबीले कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी तथा सांसद आरजु राणालाई पक्राउ गर्न लागेको समाचार प्रकाशित भएको थियो । सीआईबीको टोली बूढानीलकण्ठस्थित देउवाको निवासको आसपास पुगेको तर आरजु घरमा नभएको जानकारीपछि फिर्ता भएको पनि समाचारमा दाबी गरिएको थियो ।
तर, सीआईबीले ती समाचारलाई आधारहीन र अपुष्ट भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

‘असत्य र भ्रामक विषयवस्तु राखी ब्यूरो प्रमुख तथा ब्यूरोका सूचना अधिकारीसँग समेत प्रहरी अनुसन्धान तथा कारबाही सम्बन्धमा भएका सत्यता परीक्षण नगरी आफुखुसी आम जनमानसमा भ्रम सृजना गरी, अराजकता फैलाउने उद्देश्यले कपोकल्पित समाचार बनाई अतिरञ्जित तवरबाट प्रकाशन तथा प्रसारण गरेको पाइएको हुँदा त्यस्ता आधारहीन र अपुष्ट समाचारहरुप्रति यस ब्यूरोको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

समाचारको खण्डन गर्दै सीआईबीले कुनै अनुसन्धान तथा प्रहरी कारबाही सम्बन्धमा सत्यता परीक्षण नगरी आधारहीन समाचार प्रसारण तथा प्रकाशन नगर्न पनि आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *