बलात्कार आरोपी इन्स्पेक्टर शिवाकोटीलाई थुनामा पठाउन आदेश

बालिका बलात्कारको आरोपमा पक्राउ परेका नेपाल प्रहरीका निरीक्षक (इन्स्पेक्टर) विदूर शिवाकोटीलाई अदालतले थुनामा पठाउने आदेश दिएको छ ।

बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले शिवाकोटीलाई थुनामा पठाउने आदेश दिएको हो ।

आफ्नो घरमा घरेलु श्रमिकका रूपमा राखिएकी १२ वर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा इन्स्पेक्टर शिवाकोटी गत २३ जेठमा पक्राउ परेका थिए । उनीविरूद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा जबर्जस्ती करणीको मुद्दा दर्ता गरेको थियो ।

बालिकालाई काठमाडौं महानगरपालिकाको बाल उद्धार समितिले उद्धार गरेपछि उनीमाथि जबर्जस्ती करणी भएको सार्वजनिक भएको थियो ।

महानगरको सामाजिक विकास विभागअन्तर्गत नाताभन्दा बाहेकका व्यक्तिसँग बसेका बालबालिकाको तथ्यांक संकलन गर्ने क्रममा ती बालिकालाई इन्सपेक्टर शिवाकोटीको घरमा घरेलु श्रमिकको रूपमा राखेको खुलेको थियो । त्यहीबेला बालिकाले महानगरका अधिकारीहरूको सम्पर्क नम्बर लिएकी थिइन् ।

बालिकाले सम्पर्क गरेपछि काठमाडौं महानगरपलिकाको टोली, नागार्जुन नगरपालिका, बालबालिका खोजतलास तथा समन्वय केन्द्र, प्रहरी वृत्त स्वयम्भूसमेतको टोली पुगेर उद्धार गरेको थियो ।

बालिकाको बयानलगत्तै स्वयम्भू प्रहरीले शिवाकोटीलाई नियन्त्रणमा लिएको थियो । उनी उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत थिए ।

प्रहरीका अनुसार तराई मूलकी बालिका ६ वर्षदेखि शिवाकोटीको घरमा बस्दै आएकी थिइन् । उनी घरायसी काममा सहयोग गर्दै कक्षा ८ मा पढ्दै आएकी थिइन् ।

४५ वर्षीय शिवाकोटीले आफूलाई तीन वर्षदेखि पटकपटक जबरजस्ती करणी गरेको बालिकाको बयान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *