संसदको प्रत्यक्ष प्रसारण सांकेतिक भाषामा गर्न सांसद परियारको माग

राष्ट्रियसभा सदस्य पदमबहादुर परियारले संसदको प्रत्यक्ष प्रसारणमा सांकेतिक भाषाका लागि दोभासे राख्न सरकारसँग माग गरेका छन् ।

बुधबारको राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै सांसद परियारले संसदको गतिविधिबाट नेपालका हजारौं बहिरा समुदाय वञ्चित भएको भन्दै तत्काल संसदमा भएका गतिविधिलाई सांकेतिक भाषाका लागि दोभासे राख्न माग गरे । उनले बहिरा समुदायले सूचना पाउने एक मात्रै आधार सांकेतिक भाषा भएकाले त्यसको व्यवस्था गर्न माग गरे ।

उनले संघीय संसदमा भएका सबै कामकारबाहीहरूबाट नेपाली बहिरा समुदायहरू विमुख भएको बताए । उनले संसदको प्रत्यक्ष प्रसारण र रेकर्डिङ सांकेतिक भाषामा पनि हुन आवश्यक रहेको बताए । उनले बहिरा समुदायको पनि नीति निर्माण गर्ने थलो भएकाले उनीहरूले संसदमा भएका गतिविधि थाहा पाउनुपर्ने बताए ।

‘नेपालमा हजारौं बहीरा समुदायहरू बसेवास गर्छन् । त्यो समुदायले सूचना पाउने एक मात्रै आधार भनेको सांकेतिक भाषा हो । संघीय संसदमा भएका सबै कामकारबाहीहरूबाट नेपाली बहिरा समुदायहरू विमुख हुनुहुन्छ,’ सांसद परियारले भने, ‘संसदको प्रत्यक्ष प्रसारण र रेकर्डिङ सांकेतिक भाषामा हुने गरेको छैन । नीति निर्माण गर्ने थलो संसदमा भएका गतिविधिबाट बाहिर छन् । त्यसले गर्दा संसदमा सांकेतिक भाषा दोभासे राख्न सरकारसँग माग गर्दछु ।’

परियारले प्रतिनिधिसभामा पारित भइसकेको बजेटका सम्बन्धमा राष्ट्रियसभामा छलफल गर्नुको कुनै उपादेयता नभएको बताए । उनले राष्ट्रियसभामा बजेटबारेमा छलफल गर्नुको तात्विक अर्थ नभएको बताए ।

उनले बजेटका सम्बन्धमा अब पनि छलफल गर्नु खर्च गर्नु मात्रै भएको बताए । सभामुख र राष्ट्रियसभा अध्यक्षको समन्वयमा दुवै सदनबाट एकैपटक बजेट पारित गर्ने व्यवस्था मिलाउनुपर्ने बताए ।

उनले कानुनी व्यवस्था नै नमिल्दो रहेको भन्दै यस सम्बन्धमा कानुनी व्यवस्था सुधार गर्नुपर्नेमा जोड दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर