
संखुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित


सङ्खुवासभामा मनसुनी वर्षा सुरू भएयता हालसम्म बाढीपहिरोका कारण ४३ परिवार विस्थापित भएका छन् । बाढीपहिरोबाट २० गोठ भत्किएका छन् ।
मनसुनजन्य प्रकोपबाट दुई जनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएका छन् । सो अवधिमा बाढीपहिरोबाट ६ मोटरेबल पुलमा क्षति पुगेको छ । विस्थापितहरू आफन्तकहाँ आश्रय लिएर बसेका छन् ।
पहिरोले कोशी राजमार्गअन्तर्गतका र ग्रामीण क्षेत्रका सडकका साथै विद्युत् आयोजनामा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी धुब्रबहादुर खड्काले जानकारी दिए । बाढीपहिरोबाट मकालु गाउँपालिका-२, सागसेवा र मूलगाउँमा २४ परिवार विस्थापित भएका छन् । बाढीपहिरोले खाँदबारी नगरपालिकामा खानेपानीको मुहान र विद्युत् पोलमा क्षति पुगेको छ ।
बाढीपहिरोका कारण अन्नबाली लगाएको ठाउँ बगरमा परिणत भएको छ । जिल्लास्थित तीनवटै सुरक्षा निकायलाई खोज तथा उद्धार कार्यका लागि तयारी अवस्थामा राखिएको प्रजिअ खड्काले बताए ।
प्रतिक्रिया