सुनचाँदी पसल सञ्चालककै योजनामा दुई करोड बढीको गरगहना चोरी !

चितवनमा सुनचाँदी पसलबाट दुई करोड रूपैयाँभन्दा बढीको गरगहना चोरी गर्ने समूह पक्राउ परेको छ ।

कालिका नगरपालिका–६, खोलेसिमलस्थित स्थानीय तेजप्रसाद खनालको घरको पहिलो तल्लामा विनोद सुनारले सञ्चालन गर्दै आएको विनोद सुनचाँदी पसलबाट गरगहना चोरी गर्ने समूह पक्राउ परेको हो । रोचक के छ भने यस चोरीको मुख्य योजनाकार नै पसल सञ्चालक विनोद रहेको खुलेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ परेका पाँच जनालाई मंगलबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा चोरी गर्न लगाउने पसल सञ्चालक कालिका नगरपालिका–७ का ३५ वर्षीय विनोद सुनार, चोरी गर्न सघाउने पसल व्यवस्थापक सोही स्थानका २५ वर्षीय विजय विश्वकर्मा छन् ।

यस्तै चोरी गर्नेहरू तनहुँको म्याग्दे गाउँपालिका–४ का ५० वर्षीय पूर्णबहादुर विश्वकर्मा, बाराको बारागढी गाउँपालिका–४ का १८ वर्षीय पवनकुमार पासवान पक्राउ हुन् ।

चोरीको गरगहना लुकाउन सहयोग गरेको आरोपमा पसल सञ्चालक विनोद सुनारकी साथी कालिका नगरपालिका–६ की ४२ वर्षीय अञ्जना पुडासैनी केसी पनि पक्राउ परेकी छिन् ।

घटना विवरणअनुसार गत असार १ गते राति विनोद सुनचाँदी पसलमा अज्ञात दुई जना पुरूष नम्बर नखुलेको सेतो, कालो रङको सुपर स्प्लेन्डर मोटरसाइकल चढेर उक्त पसलमा पुगेका थिए ।

उनीहरूले पसलमा बसिरहेका पसल व्यवस्थापक विजय विश्वकर्मा र बापिधर गौतमलाई खुकुरी र चक्कु घाँटीमा राखेर डरत्रास र धाकधम्की देखाई पसलभित्र राखिएको २ करोड १७ लाख ५४ हजार ४१५ रूपैयाँ बराबरको सुनचाँदी र हीराका गरगहनाहरू चोरी गरेका थिए ।

घटना सम्बन्धमा सीआईबीबाट खटिएको टोली र जिल्ला प्रहरी कार्यालय, चितवनको संयुक्त टोलीले अनुसन्धान गर्दा विनोद सुनचाँदी पसलका सञ्चालक विनोद सुनार स्वयं चोरीको मुख्य योजनाकार रहेको खुलेको हो । बीमा रकम ठगी गर्ने मनसायले उनले पसलमा चोरी गर्न लगाएको अनुसन्धानमा देखिएको छ ।

पक्राउ परेकाहरूविरूद्ध चोरी तथा डाँकासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर