सहकारी समस्या समाधानका लागि दलहरूसँग लिखित सुझाव माग्ने समितिको निर्णय

सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलहरूलाई समस्या समाधानका लागि सुझावहरू लिखित रूपमा उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको छ । मंगलबार सहकारी छानबिन विशेष समितिले राष्ट्रिय सहकारी महासंघ, बचत तथा ऋण केन्द्रीय सहकारी संघ र राष्ट्रिय सहकारी बैंक लिमिटेडका पदाधिकारीसँग सहकारी क्षेत्रसँग सम्बन्धित विषयमा लामो छलफलपछि यस्तो निर्णय गरेको हो ।

छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सहकारी छानबिन समितिका संयोजक सूर्य थापाले सहकारी क्षेत्रको बचत अपचलन र ठगी तथा बचत फिर्ताको समस्या सम्बन्धमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलहरूलाई समस्या समाधानका लागि सुझावहरू लिखित रूपमा उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको बताए । उनले सहकारी समस्यालाई जस्ताको तस्तै बुझ्न, तथ्य प्राप्त गर्न समस्याको प्रवृत्ति विश्लेषण गरी समाधान गर्ने गरी कोसिस जारी रहेको बताए ।

उनले सहकारी समस्या आर्थिक क्षेत्रको समस्या मात्रै नभएर तीनखम्बे अर्थतन्त्रको एउटा खम्बा भएको बताए । उनले सहकारी क्षेत्रको विकास, प्रवर्द्धन र विस्तारसँग राजनीतिक क्षेत्र पनि अभिन्न रूपले जोडिएको भन्दै प्रतिनिधिसभाले अधिकार दिएको चारबुँदे कार्यदेशमा केन्द्रित भएर सहकारी क्षेत्रका समस्या समाधानका निम्ति राजनीतिक दलहरूसँग सुझाव माग गरिने बताए ।

उनले संगठित रूपमा सहकारी क्षेत्रको विकास, प्रवर्द्दन र व्यवस्थापनमा राजनीतिक दलहरू जिम्मेवार रहेको बताए । उनले राजनीतिक दलका विभिन्न व्यक्तिहरू संग्लन रहेको भन्दै शुद्धीकरण र समस्या समाधानका लागि राजनीतिक क्षेत्रले जवाफदेही ढंगले छानबिन अभियानमा साथ दिन आवश्यक रहेको बताए ।

सहकारी छानबिन समितिको छलफलमा सहकारी क्षेत्रका जानकारहरूले सहकारी क्षेत्रमा अहिले देखापरेका संकट र सहकारी क्षेत्रका समस्या समाधान गर्ने बारेमा महत्त्वपूर्ण सुझावहरू दिएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर