अब कसरी गठन हुन्छ नयाँ सरकार ?

कांग्रेस र एमालेबीच सोमबार मध्यरातमा सहमति भएसँगै नयाँ सरकार गठनको चहलपहल सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भएको हो । ओली र देउवाबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको हो ।

हाल सरकारको नेतृत्व माओवादी अध्यक्ष पुष्पकमल दाहालले गर्दै आएका छन् । गत फागुन २१ मा भएको सहमतिअनुसार सरकारमा माओवादीसँगै एमाले, रास्वपासहित दल छन् । प्रधानमन्त्री दाहालले भने तत्काल प्रधानमन्त्रीबाट राजीनामा नदिने बरु विश्वासको मत सामना गर्ने जनाएका छन् ।
यदि उनले राजीनामा नदिए नयाँ सरकार गठनका लागि अझै एक महिना समय लाग्न सक्छ ।
नयाँ सरकार गठनका लागि पहिलो विकल्प हो, प्रधानमन्त्रीले राजीनामा दिने । प्रधानमन्त्री दाहालले राजीनामा दिए राष्ट्रपतिले बहुमतको सरकारका लागि आह्वान गर्ने र कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्नेछन् ।

यदि, प्रधानमन्त्री दाहालले राजीनामा नदिए अर्को विकल्प हो, एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने । त्यसअनुसार प्रधानमन्त्री दाहालले ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्नेछ ।
संविधानको धारा १०० मा प्रधानमन्त्रीले विश्वासको मत लिने व्यवस्था छ ।

उपधारा २ अनुसार प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नु पर्नेछ ।

विश्वासको मत प्राप्त नभएपछि उनको सरकार ढल्नेछ भने राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् ।

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार वा उपधारा ३ अनुसार सरकार गठनका लागि आह्वान गर्नसक्नेछन् । उपधारा ३ अनुसार ठूलो दललाई सरकारको नेतृत्वका लागि दाबी गर्न आह्वान गरिन्छ ।

राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्थाअनुरूप सरकार गठन आह्वान गर्ने सहमति एमाले र कांग्रेसबीच भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर