कांग्रेस-एमाले मिलेर सरकार बनाउने कुरा संवैधानिक छैन : माओवादी केन्द्र

नेकपा (माओवादी केन्द्र) का प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउने कुरा संवैधानिक नभएको बताएका छन् ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले दुई दलबीचको सहमति अप्रत्याशित भएको र संवैधानिक नरहेको बताएका हुन् ।

लोकतान्त्रिक मूल्यमान्यतामा आधारित भएर कांग्रेस र एमालेबीच सहमति नभएको उनले बताए । देशका पहिलो र दोस्रो ठूलो पार्टी मिलेर बन्ने भन्ने कुरा नै प्राकृतिक नभएको जिकिर उनको थियो ।

‘हामीलाई के लागेको छ भने अप्रत्याशित रुपमा जुन खालको घटनाक्रमहरू अघि आएका छन्, यो त्यति स्वाभाविक र संवैधानिक छैन । लोकतान्त्रिक मूल्यमान्यतामा आधारित भएर आएको जस्तो लाग्दैन,’ उनले भने, ‘देशका पहिलो र दोस्रो ठूलो पार्टी मिलेर बन्ने भन्ने कुरा नै प्राकृतिकजस्तो लाग्दैन ।’

कांग्रेस र एमाले मिलेर सरकार बनाउने कुरा अग्रगमनतिर भन्दा पश्चगमनतिर जाने संकेतका रूपमा देखापरेको उनले बताए । उनले भने,‘बाहिर कुरा आइरहेको छ, संविधान संशोधनसम्मका कुरा छन् । संविधान संशोधनमा पनि समानुपातिकका कुरा छन् । अग्रगमनतिर भन्दा पश्चगमनतिर जाने संकेत देखापरेको छ । यो बेठीक छ ।’

प्रवक्ता सापकोटाले सामाजिक न्याय र सुशासनमा वर्तमान सरकारले राम्रोसँग काम गरेको पनि दाबी गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर