घुस लिएको आरोपमा फुङलिङका सिनियर प्राविधिक पक्राउ

फुङलिङ नगरपालिकाका सिनियर प्राविधिक अख्तर हुसेनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ ।

सेवाग्राहीबाट एक लाख रकम लिएको अभियोगमा अख्तियारको टोलीले नियन्त्रणमा लिएको जनाइएको छ । फुङलिङ नगरपालिका–२ तारीबुङ क्षेत्रमा निर्माणाधीन रङ्गशालाको कामबाट हुसेनले अतिरिक्त रकम लिएको निर्माण व्यवसायीको दाबी छ ।

फुङलिङ नगरपालिका–२ का वीरबहादुर तामाङले आफूले ठेक्कामार्फत काम गरेको र प्राविधिकले लगातार पैसा मागेपछि अख्तियारमा खबर गरेको बताएका छन् ।

काम गरेवापतको रु छ लाख ६४ हजार पाँच सय ४१ भुक्तानी लिएको र भुत्तानीको चेक लिनुअघिदेखि नै हुसेनले मलेपको टोलीलाई दिनुपर्छ भनेर २० प्रतिशत पैसा मागेको तामाङले बताए ।

आफूले पैसा दिन नसकिने भनेपछि पटकपटक फोन गरेर २० बाट घटेर १५ प्रतिशत मागेको उनको भनाइ छ । त्यसपछि अख्तियारको कार्यालयमा खबर गरेर अख्तियारको टोली आएपछि उनको निवासमा गएर उनले मागेको १५ प्रतिशत पैसा दिएको तामाङले बताए ।

काम सम्पन्न गरेर पनि आफूलाई भुक्तानी लिन निकै हैरानी दिएको तामाङको गुनासो छ । नगरपालिका उपप्रमुख नेतृत्वको टोलीले अनुगमन गर्नुपर्ने, अनुगमन गरेरपनि उपप्रमुखले पहिला प्राविधिकलाई सही गराउनु भन्ने, प्राविधिकले उपप्रमुखलाई सही गराउनु भन्ने जस्ता हैरानी दिएको तामाङको भनाइ छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर