सरकार ढल्ने हल्ला ‘मिडिया ट्रायल’ का रूपमा आयो : सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताएकी छन् । सोमाबर मन्त्रिपरिषद्का निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरूका जिज्ञासाको जवाफ दिँदै उनले सञ्चारमाध्यममा आएका असमझदारी भयो, गठबन्धन टुट्यो भन्ने जस्ता समाचारमा सत्यता नरहेको बताइन् ।

उनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालबीच सकारात्मक छलफल भएको बताउँदै वर्तमान गठबन्धन लामो समय चल्ने बताइन् । उनले सञ्चारमाध्यममा मिडिया ट्रायलका रूपमा वर्तमान सरकार ढल्यो भन्ने हल्ला फिँजाइएको बताइन् ।

‘बाहिर असमझदारी भए, बढे भन्ने जुन खालका चर्चा छन्, ती सबै कुरा असत्य हुन् । त्यस्तो छैन । सकारात्मक छ छलफल । यो गठबन्धन लामै समय जाने भनेर प्रधानमन्त्रीज्यूले भन्नुभएको छ । हामीलाई पनि त्यस्तो मिडियामा आएको स्थिति होइन भन्ने कुरा ब्रिफिङ गर्नुभयो,’ उनले भनिन्, ‘यो गठबन्धन र सरकार यसरी नजाओस् भन्ने कुरा पनि कसैले सोचेको होला । यसलाई मिडिया ट्रायलका रूपमा ल्याइएको हो । कमरेड केपी ओलीले सबै आफ्ना मन्त्रीलाई ६ बजे बोलाएको भन्ने मिडियामा छ, मन्त्रीहरूलाई थाहा छैन । आएका सबै समाचारहरू सत्य हुँदा रहेनछन् भन्ने यो उदाहरण हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर