मठेश्वरनाथ मन्दिरको उत्खनन गर्दा भेटिए आठौं/नवौं शताब्दीका लिच्छवीकालीन अवशेष


धनुषामा जनककालीन ऐतिहासिक मठेश्वरनाथ मन्दिरको उत्खनन गर्दा आठौं/नवौं शताब्दीका लिच्छवीकालीन अवशेषहरू फेला परेका छन् ।

पुरातत्व विभागका पुरातत्वविद् प्रकाश दर्नालसहितको तीन सदस्यीय टोलीले असार ७ गतेदेखि सुरू गरेको सो प्राचीन मन्दिरको अवशेष उत्खननमा आठौं/नवौं शताब्दीका लिच्छवीकालीन अवशेषहरू फेला परेको हो ।

सबैला नगरपालिकाको वडा नं. ६, गोविन्दपुरस्थित जनककालीन ऐतिहासिक मठेश्वरनाथ मन्दिरमा अहिलेसम्म दुईवटा पत्थर जोड्ने आइरन डावर, फलामको गोलो रिङ, मन्दिरको मातिको सरफेशमा भारतीय र नेपाली सिक्काका साथै पत्थरमा लिच्छवी शैलीको ‘माना’ अर्थ आउने अक्षर भेटिएको छ ।

पुरातत्वविद् प्रकाश दर्नालका अनुसार सोही अक्षरका आधारमा मन्दिरको प्राचीनता पत्ता लगाउन सकिन्छ । लिपि विशेषज्ञलाई देखाएर वास्तविकता पत्ता लगाउने उनले बताए । पुरातत्वविद् दर्नालले भग्नावशेष हेर्दा प्राचीन मन्दिरको स्वरूप देखिएको बताए । उनले उत्खननका क्रममा एउटा महत्त्वपूर्ण ढुंगा भेटिएको जानकारी दिए ।

स्थानीयका अनुसार पुरातत्व विभागले उत्खनन गरिरहेको स्थानमा मठेश्वरनाथ मन्दिर थियो । यस मन्दिरको बारेमा धार्मिक ग्रन्थ रामायणमा समेत उल्लेख गरिएको पाइन्छ । सो मन्दिर मिथिलाका राजा जनकले निर्माण गरेको जनविश्वास छ ।

राजा जनकले मिथिलाको राजधानी जनकपुरधामको सम दूरीमा चारवटा मठ निर्माण गरेका थिए । महोत्तरीको जलेश्वरमा जलेश्वरनाथ, धनुषाको क्षीरेश्वरमा क्षीरेश्वरनाथ, धनुषाकै गोविन्दपुरमा मठेश्वरनाथ र भारत बिहार राज्यको काल्याणेश्वरमा कल्याणेश्वरनाथ मन्दिरको निर्माण गरेका थिए ।

त्यसमध्ये जलेश्वरनाथ, क्षीरेश्वरनाथ र कल्याणेश्वरनाथ मन्दिर आज पनि पूजापाठ हुन्छ भने मठेश्वरनाथ मन्दिरको केही भग्नावशेष मात्र बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *