सत्ता समीकरण फेरबदलको चर्चाबारे के भन्छन् प्रमुख दलका सांसदहरू ?

नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले प्रधानमन्त्री र मन्त्रीहरू फेर्नका लागि मात्रै दुई प्रमुख दल मिल्ने कुरा संकीर्ण सोच भएको बताएका छन् । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद पाण्डेले महिना महिना दिनमा हुने उथलपुथलले राजनीति र व्यवस्थालाई फाइदा नपुग्ने बताए ।

उनले एउटा व्यक्तिलाई प्रधानमन्त्री बनाएर अर्को व्यक्ति प्रधानमन्त्री बन्ने कुराका लागि मात्रै दुई दल मिल्नु निकृष्ट र संकीर्ण सोच भएको बताए । संविधान संशोधन गर्न र सत्तालाई स्थिर ढंगले चलाउने उद्देश्यसहित दुई दल मिल्नु राम्रो हुने उनको भनाइ छ ।

‘दुईवटा दल मिल्ने कुरा फेरि कसैलाई प्रधानमन्त्रीबाट हटाएर अर्कोलाई स्थापित गर्ने, मन्त्रीहरू परिवर्तन गर्ने कुरामा मात्रै आधारित भयो भने त्यो झन् निकृष्ट र संकीर्ण सोचबाट निर्देशित प्रयत्न हो भन्ने लाग्छ मलाई,’ उनले भने, ‘संविधान बदल्नु छ, कानुनहरू बदल्नु छ, सत्तालाई स्थिर ढंगले चलाउनु छ, बाँकी रहेको ३ वर्षलाई स्थिर शासन दिने ध्येयले ठूलो उद्देश्यले एक ठाउँमा उभिने कुरा गरे भने देशको अर्थतन्त्र कमजोर छ, राजनीतिक अस्थिरता छ । त्यसकारण देशको अर्थतन्त्रलाई पनि सुदृढ बनाउँछौं, देशको राजनीतिलाई स्थिर बाटो दिन्छौं भन्ने कोणबाट समझदारी हुन सक्यो भने त्यसलाई नराम्रो मान्न मिल्दैन ।’

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले संविधान संशोधन लगायतका विषयमा सझादारी बन्यो भने कांग्रेस-एमालेको सहकार्य हुन सक्ने बताए । उनले केवल सत्तामा मात्रै आधारित नभई मुद्दामा आधारित भएर अगाडि बढ्नुपर्ने बताए ।

‘हामी मुद्दामा आधारित हुनुपर्छ । सरकार परिवर्तन हुनु मात्रै महत्त्वपूर्ण होइन । यो सरकार दिगो हुनुपर्छ र दीर्घकालिन रूपमा काम गर्ने वातावरण हुनुपर्छ,’ उनले भने, ‘अब सत्ताको लागि सत्ता होइन कि त्यसको दिगोपन, के-के मुद्दामा सहमति हुने ? निर्वाचन प्रणालीले स्थायित्वमा समस्या आयो भन्ने कुरा छ,यी सबै कुरामा समझदारी बन्यो भने अगाडि बढ्न सक्छ । कुराकानी हुनु अस्वाभाविक होइन । तर हामी सत्तामा जानका लागि मात्रै केन्द्रित भएर गर्दैनौं ।’

यस्तै नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले एमाले वर्तमान सरकारलाई मजबुत बनाएर लैजाने पक्षमा रहेको बताए । उनले एमाले सरकार अदलबदलको पक्षमा नरहेको बताए ।

उनले भने, ‘एमाले यो सरकारलाई मजबुत बनाएर लैजाने पक्षमा छ । सरकार अदलबदल गरेर त्यसको नेतृत्व परिवर्तन गर्ने खेलमा एमाले छैन । सरकारलाई मजबुत बनाएर लैजानुपर्छ ।’

नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले नेताहरूबीचको भेटवार्ताले सत्ता समीकरणमा फेरबदल नआउने बताए । उनले आज नै वर्तमान सत्ता समीकरणलाई नै मजबुत बनाएर लैजाने विषयमा प्रधानमन्त्री र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भद्र सहमति भएको बताए ।

‘प्रधानमन्त्रीको पहलमा सरकारलाई व्यवस्थित ढंगले सञ्चालन गर्ने, समीकरणलाई बचाउने, सहकार्यलाई निरन्तरता दिने र ०८४ सम्म नै समीकरण अगाडि बढाउनुपर्छ,’ उनले भने, ‘सरकार सञ्चालनमा चाहिँ यही समीकरणलाई मजबुत बनाएर जाऔं भनेर बालुवाटारमा भद्र सहमति पनि भएको छ दुई नेताहरूका बीचमा । त्यसकारण तरंगित भइराख्नुपर्ने आवश्यकता देखिँदैन । सत्ता समीकरणमा फेरबदल आउने परिस्थिति देखिँदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *