शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्छु : मन्त्री श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्ने बताएकी छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले आफू मन्त्री रहँदासम्म शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्ने बताएकी हुन् ।

उनले विश्वविद्यालयमा प्रहरी परिचालन गरेर भए पनि राजनीतिक दलका भातृ संगठनको हस्तक्षेपलाई अन्त्य गर्ने बताइन् । उनले त्रिभुवन विश्वविद्यालयमा सेवा आयोगले खोलेको विज्ञापनमा अन्तर्वार्ता प्रहरी राखेर गर्नुपरेको बताइन् ।

‘टीयूमा सेवा आयोगले नयाँ विज्ञापन खोलेको थियो । त्यो विज्ञापन गर्न पाइदैनँ भनेर फेरि अर्को एउटा समूह उठेछ र तालाबन्दी गरेछ । धम्की दिएछ । प्रहरीहरू राखेर अन्तर्वार्ता गर्नुपर्ने, प्रहरीहरू राखेर गर्नुपर्ने काम छ । यसमा सबैले म म गर्नुपर्ला त्यो भ्रातृ संगठनहरू कुन राजनीतिक दलको हो भनेर,’ उनले भनिन्, ‘शिक्षामन्त्री गयो भने राजनीतिक हस्तक्षेप, प्रहरी गयो भने राजनीतिक हस्तक्षेप, गुण्डागर्दीहरूको राजनीतिक हस्तक्षेप हुँदैन । त्यसकारण यो त्यतिबेलासम्म कायम हुन्छ जुन बेलासम्म दलीय राजनीतिक हस्तक्षेप अन्त्य हुँदैन । तर, जबसम्म म शिक्षामन्त्री छु, बरू प्रहरी प्रयोग गर्छु तर गुन्डागर्दी सहिन्न । र, दलीय राजनीतिकरण हटाएरै छोड्ने हो । जसरी भए पनि छोड्ने हो ।’

हेर्नुहाेस् भिडियाे 

मन्त्री श्रेष्ठले एसईई परीक्षाको नतिजामा शिक्षा मन्त्रालय मात्र नभई सिंगो समाज नै आक्रोशित हुनुपर्ने बताइन् । उनले एसईईमा विद्यार्थी अनुत्तीर्ण भएको प्रतिशतले समाजको चित्रण गरेको बताइन् ।

मन्त्री श्रेष्ठले शिक्षा क्षेत्रको सुधारका लागि शिक्षक, अभिभावक, राजनीतिक व्यक्ति सबैले उत्तिकै ध्यान पुर्‍याउनुपर्ने बताइन् । उनले तालाबन्दी गरेर विद्यार्थीहरूको पढ्ने अधिकार खोस्ने प्राध्यापकलाई कारबाही गरिने बताइन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर