६० किलो सुन तस्करी प्रकरणमा किन छुटे ‘हाइप्रोफाइल’ ?

६० किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दोस्रो चरणको अनुसन्धान टुंग्याएको छ ।

दोस्रो चरणमा ५ सय ६२ पृष्ठको प्रतिवेदन तयार पार्दै सीआईबीले आइतबार काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयलाई पनि बुझाएको छ । सीआईबीले यसपटक ४६ जनालाई प्रतिवादी बनाएको छ, जसमा २० जना पक्राउ र २६ फरार छन् ।

तर, प्रतिवादीमा भने ‘हाइप्रोफाइल’ कसैको पनि नाम छैन । विगतमा हाइप्रोफाइल व्यक्तिहरु सुन तस्करीमा कुनै न कुनै रुपमा संलग्न भएको चर्चा हुने गरेको थियो । माओवादी नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन लगायतको नाम सुन तस्करीमा जोडिएको थियो ।

सीआईबीले भने अनुसन्धानको क्रममा हाइप्रोफाइल व्यक्ति तस्करीमा संलग्न नपाइएपछि प्रतिवादी नबनाएको जानकारी दिएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै सीआईबी प्रमुख एआईजी श्यामलाल ज्ञवालीले ६० किलो सुन तस्करी प्रकरणमा हाइप्रोफाइलको संलग्नता नदेखिएको बताएका हुन् ।

यद्यपि, भेपमार्फत सुन तस्करी प्रकरणमा भने उनीहरुको नाम जोडिएको छ । ‘भेपमार्फत भएको तस्करी प्रकरण फरक हो,’ ज्ञवालीले भने । सीआईबीले प्रतिवादीबाट २ खर्ब ६६ अर्ब ६७ करोड बिगो दाबी गर्नुपर्ने पनि उल्लेख गरेको छ ।

एआईजी ज्ञवालीलले ६० किलो सुन तस्करी प्रकरणमा थप अनुसन्धान हुने पनि जानकारी दिए ।

प्रहरीले ब्रेकसुमा लुकाएर ल्याएको ६० किलो सुन २०८० साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन बरामद गरेको थियो ।

यसअघि सीआईबीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत ब्रेकसुमार्फत ३६२ किलो ७७८ ग्राम सुन तस्करी गरेको आरोपमा गत वर्षको भदौ ३१ म २९ विरुद्ध मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा पक्राउ परेकामध्ये २४ जना अभियुक्त पुर्पक्षका लागि थुनामा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर