नक्कली कम्पनी खडा गरेर यसरी हुन्थ्यो क्विन्टलका क्विन्टल सुन तस्करी

नेपाल प्रहरीले ५ वटा नक्कली कम्पनी खडा गरेर करिब ३२ सय केजी सुन तस्करी भएको खुलासा गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ५ वटा नक्कली कम्पनी खडा गरेर करिब ३२ सय केजी सुन तस्करी भएको पत्ता लागेको बताएको हो ।

केन्द्रीय अनुसन्धान ब्युरोले भुजेल इलेक्ट्रिक सप्लायर्स प्रालिबाट १ हजार ३ सय ३ दशमलव ९६५ केजी, ह्वाडा इलेक्ट्रिक सप्लायर्स प्रालिबाट ६३२.७९५ केजी, चुंगाक इलेक्ट्रिक सप्लायर्स प्रालिबाट ७१६.८३ केजी, दोलखा इलेक्ट्रिक सप्लायर्स प्रालिबाट १७०.८ र रेडी ट्रेड प्रालिबाट ७.५ केजी सुन पैठारी भएको बताएको हो । सुन तस्करी गर्नकै लागि यी कम्पनी खोलिएको र सामान भत्र लुकाएर सुन ल्याइएको दाबी सीआईबीको छ ।

प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले कम्पनीमार्फत कुल २ हजार ८३१.८९ केजी सुन तस्करीको भएको र यसको मूल्य २७ अर्ब ३२ करोड २० लाख ७४ हजार ७२० रूपैयाँ हुन आउने बताए । त्यस्तै ब्रेकसुमा लुकाइछिपाइ ल्याएको अवैध सुन ३६२.७७८ केजी, इलेकट्रोनिक मालवस्तुमा लुकाइछिपाइल्याएको अवैध सुन २८ सय ३१.८९ केजी गरी कुल अवैध सुन ३ हजार १९४.६६८ केजी रहेको र यसको मूल्य ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २७२ रूपैयाँ बराबर रहेको बताए ।

यस प्रकरणमा दोस्रो चरणमा १२ जना पक्राउ परेको पनि सीआईबीले जानकारी दियो । पक्राउ पर्नेमा नेपाली, भारतीय चिनियाँ नागरिक छन् ।

पक्राउ पर्नेमा अवैध सुन खरिद गर्ने, गाल्ने पगाल्ने तथा बिक्री वितरणमा संलग्न भारतको महाराष्ट्रका २० वर्षीय सिद्धनाथ अशोक, सोही स्थानका वर्ष २१ का धिरज दिनेश भोइटे, सोही स्थानका २१ वर्षकै प्रशान्त गणेश बजबलकर, चीनको सिचुआन प्रान्तको छेङ्दु भई हाल काठमाडौं बस्ने ४१ वर्षीय राजु भोटो तथा कुंगा टासी भन्ने गेंगा जाक्छी छन् ।

यस्तै काभ्रेपलाञ्चोकका ४४ वर्षीय थर्कमान तामाङ भन्ने कान्छा लामा, पर्साको वीरगञ्ज महानगरपालिका–१६ का ५३ वर्षीय सुरेन्द्रमान श्रेष्ठ, भक्तपुरका ३९ वर्षीय राजु खत्री, धादिङका राजु थापा भन्ने प्रेमनाथ सेढाईं पक्राउ परेका छ ।

सीआईबीका अनुसार भारतको गुजरातका वर्ष ६१ का बैजनाथ व्रह्मदत्त गोयल, चीन प्रशासित तिब्बत घर भई भारतमा तिब्बतियन शरणार्थीको रूपमा रहे् हाल बौद्ध बस्ने ३६ वर्षीय सोनाम गुरूङ भन्ने सेराव ग्याल्मो, चितवनका ४३ वर्षीय एनजे भन्ने मनोजकाजी श्रेष्ठ, काभ्रेपलाञ्चोकको भुल्मु–१ का २२ वर्षीय रूपक भण्डारीलाई पनि पक्राउ गरिएको छ ।

उनीहरूलाई भन्सार ऐन–२०६४, संगठित अपराध निवारण ऐन–२०७०, मुलुकी अपराध संहिता–२०७४, नागरिकता ऐन–२०२०, राहदनी ऐन–२०२४ र नेपाल राष्ट्र बैंक ऐन–२०५८ आकर्षित हुने प्रहरीले बताएको छ ।

अवैध सुन कारोबारमा प्रत्यक्ष संलग्न १२ जनालाई २ खर्ब ६६ अर्ब ६७ करोड ९ लाख ९ हजार ३०८ रूपैयाँ बिगो मागदाबी गरिएको छ । भन्सार ऐन (अवैध सुन) तर्फ ३० अर्ब ८४ करोड १२ लाख २६ हजार ४४०.९० रूपैयाँ, क्रिप्टोकरेन्सीतर्फ १ खर्ब ४९ अर्ब ६८ लाख २८ करोड ७ हजार ८८६ रूपैयाँ, नेपाल राष्ट्र बैंक ऐनतर्फ ८६ अर्ब १४ करोड ६८ लाख ७४ हजार ९८२.७६ रूपैयाँ बिगो मागदाबी गरिएको छ ।

त्यस्तै पेवेल नेपाल प्रालिसँग ६१ अर्ब ५० करोड २७ लाख ९ हजार २३३ रूपैयाँ, सजिलो पे पेमेण्ट सर्भिसेज प्रालिसँग १९ अर्ब ४६ करोड २५ लाख ७३ ७८५ रूपैयाँ र अन्य प्रतिवादीहरूसँग ५ अर्ब १८ करोड १५ लाख ९१ ९६४.७६ रूपैयाँ बिगो मागदाबी गरिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर